| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बेनामे जर्नेलको खोजतलास


‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएको एउटा शान्ति सेना युद्धरत मुलुक युगोस्लाभियाको सैन्य शिविरमा नियमित पस्छ । एउटा जर्नेलको निवासमा खान्छ, बस्छ । एकबर्षसम्मको बसाइमा जर्नेल परिबारसंग पारिवारिक सम्बन्ध स्थापित गर्छ । आफ्नो नाम, ठेगाना, पारिवारिक विवरण, रुचि इतिवृति बताउँछ । जर्नेलको परिबारको पनि सबै जानकारी राख्छ तर जर्नेलको नाम जान्दैन । यो कसरी सम्भव हुन्छ ?’, कार्यक्रममा रामचन्द्र आचार्य सोध्छन्, ‘लेखकले पाठकलाई उल्लु बनाएको हो ?’
स्कुले जीवनका आफ्ना परमआदरणीय गुरुको प्रश्नको झटारोले कथाकार राजुबाबु श्रेष्ठ रन्थनिन्छन् ।

गृहयुद्धमा लडिरहेका सैन्य कमाण्डरले जासुसी हुनसक्ने डरले नाम नबताएकाले आफूले पनि थाहा नपाएको भन्दै थामथुम बनाउने प्रयास गर्छन् ।


प्रसंग कथाकार डाक्टर राजुबाबु श्रेष्ठको कथासंग्रह ‘बेनामे जर्नेल’बारे शनिबार गोरखामा आयोजित पाठक–लेखक अन्तरक्रिया कार्यक्रमको हो ।


अर्का बक्ता इश्वर चौहानले ‘बेनामे जर्नेल’ कथासंग्रहका कथाकार राजुबाबु श्रेष्ठले प्रहरीको जागिर छाडे पनि कलम रुपी हतियार चलाएर समाज सुधारको जागिरमा बहाल गराइरहेको बताए । ‘राजुबाबु श्रेष्ठले प्रहरी सेवामा बहाल छँदा एकाथरी हतियारद्वारा समाजमा शान्ति सुरक्षा स्थापना गर्ने काम गरे । अहिले सेवाबाट निवृत्त भए पनि कलमको हतियारद्वारा समाज सुधारको काम गरेका रहेछन्’, चौहानले भने, ‘लेखकको व्यक्तित्व अत्यन्त सरल, हँसिलो, रसिलो भए पनि उनका कथाबस्तु भने शोषित, पिडित, पिल्सिएका समुदायबाट उधिनेकाले निकै सकसपूर्ण छन् ।’

विशेषगरी नेपाल भारत सीमा क्षेत्रमा बस्ने निम्न बर्गका पात्रहरु, जो पोको बोकेर सामान सीमाबाट ओसारपोसार गरेर जीविकोपार्जन गर्छन्, उनीहरुको कथाव्यथालाई अत्यन्त मार्मिक ढंगले उतारिएको उनले बताए । त्यस्तै जंगे पिलरलाई आफ्नो प्राणसरह मानेर बाँचेका सीमा क्षेत्रका बासिन्दाले नागरिकता नपाएर अनागरिक भएर मर्नुपरेको मार्मिक विषय पनि कथामा समेटिएको बताए ।


तराई, मधेसका दलित, गरिब वर्ग आर्थिक तथा सामाजिक विकृतिमा कसरी पिल्सिएर बसेका छन् भन्ने बारे कथासंग्रहले दुरुस्त उतारेको बताए । भित्रका १५ वटा कथामध्य कुनभन्दा कुन कम भन्ने खालका रहेको बताए ।


कथाकार श्रेष्ठको साहित्यिक र समाजसेवाको कामबाट प्रभावित भएका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले श्रेष्ठ जागिरबाट निवृत्त भएको नभै प्रहरी सेवाबाट समाज सुधार क्षेत्रमा सरुवा भएको तर्क गरे ।


कथाकार श्रेष्ठले आफू साहित्यकार भएर कथा लेखेको नभै आफूले देखे, भोगेका पात्रको कथाव्यथाले लेख्न बाध्य पारेको बताए ।
कार्यक्रममा इन्द्रकुमारी देवकोटा, यदु अधिकारी, कमल कोइराला, ध्रुव घिमिरेले पनि पुस्तक बारे आ–आफ्ना धारणा राखेका थिए ।


साहित्य संगम गोरखाका अध्यक्ष शिव उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुपमा खनालले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्