
सांसद र पालिका प्रमुखहरुको समन्वयात्मक बैठक : बूढीगण्डकी जलविद्युत, ठोरी, गोरखा लार्के सडकलाई पहिलो प्राथमिकता
गोरखा क्षेत्र नं. १ को प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद र स्थानीय तहले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेका छन् ।
बुधबार र बिहिबार आयोजना गरिएको प्रतिनिसभा तथा प्रदेशसभा सांसद र स्थानीय तह प्रमुखहरुको समन्वयात्मक बैठकले तीन ठूला आयोजनालाई क्षेत्र स्तरको गौरवका योजना कायम गरी पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ, प्रदे सभा सांसद नन्दप्रसाद न्यौपाने र क्षेत्र नं. १ अन्तर्गतका सात पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुखहरुको समन्वयात्मक बैठकले राष्ट्रिय गौरवको योजना बूढीगण्डकी जलविद्युत आयोजना, ठोरी गोरखा, बजार, रुइलाभञ्ज्याङ सडक, बेनिघाट, आरुघाट, सिर्दिबास ङुइलाभञ्ज्याङ नाका जोड्ने सडकलाई प्राथमिकताका साथ अघि बढाउन प्राथमिकता दिने निर्णय गरेको हो ।
साथै हरेक पालिकाहरुको आवश्यकता र मागका आधारमा पर्यटन र पूर्वाधार विकासका लागि तीनै तहको संयुक्त सामथ्र्य जुटाएर सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएको सांसद बजगाईँले जानकारी दिए । गोरखा १ को विकासका लागि सम्भाव्यता अध्ययन गर्न विज्ञ नियुक्त गरिसकेको उनले बताए ।

बैठकमा धार्चे गाउँपालिका प्रमुख लक्ष्मण गुरुङ र चुमनुब्री गाउँपालिका प्रमुख निमा लामाले छुट्टै जिल्ला वा राजनीतिक अधिकारसहितको विशेष स्वायत्त क्षेत्र घोषणाका लागि जोड दिएका थिए । निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, तिब्बतसंगको सीमा नाका खुल्ला गर्न पहल गर्नुपर्ने लगायतका माग उनीहरुको थियो ।
आरुघाट गाउँपालिका प्रमुख राजु गुरुङले विकास पहुँचको आधारमा नभै आवश्यकताका आधारमा गर्नुपर्नेमा जोड दिए ।
भीमसेनथापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले साना योजनाले बजेट दुरुपयोग मात्र भएको, देखिने काम नभएको भन्दै संघले २५ लाख भन्दा बढिका, प्रदेश सरकारले १५ लाख भन्दा बढिका र पालिकाले पाँच लाख भन्दा बढिका योजना मात्र तय गरेमा देखिने विकास हुने तर्क गरेका थिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले आँबुखैरेनी गोरखा सडक राजमार्ग अन्तर्गत पर्ने र २५ मिटरभन्दा भित्रका घरहरु सडक क्षेत्राधिकारभित्र पर्ने हुँदा घर घडेरी वैँक धरौटी राख्न नमिल्ने गरेको, जसले गर्दा व्यवसायी पनि मारमा परेको र पालिकाहरुले पनि राजस्व असुल्न नपाएर दोहोरो समस्या परेको भन्दै सोलाई खुकुलो बनाउन पहल गर्नुपर्ने बताएका थिए ।
गण्डकी गाउँपालिका प्रमुख दीपक तिमिल्सिनाले जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको सकारात्मक पहलले मात्र जिल्लाको विकास निर्माण सहज हुने तर्क गरेका थिए । साथै सिउरेनीटार, बुटार, रबर उद्योग सडक निर्माणमा जोड दिएका थिए ।
बैठकमा बोल्दै प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईँ र प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपानेले स्थानीयतहसित समन्वय र सहकार्य गरेर मात्र काम गर्ने प्रतिवद्धता जनाएका छन् । विकासमा राजनीति आफूले पनि नगर्ने भन्दै पालिका प्रमुख उपप्रमुखहरुलाई पनि विकासमा राजनीति नगर्न आग्रह गरे । साथै उनले महत्वपूर्ण विषयमा सम्बन्धित निकायमा माग राख्न स्थानीय तहका प्रमुखहरुका साथ जाने उनले आस्वस्त पारेका छन् । कांग्रेस र माओवादीको मतले आफू विजयी भएकाले दुवै पार्टीसंग सहकार्य गरेर काम गर्ने उनले अठोट गरेका छन् ।
त्यस्तै प्रदेशसभा सांसद न्यौपानेले वृहत्तर हितका काममा एउटै पार्टीको कुरा नसुन्ने प्रतिवद्धता जनाएका छन् । परस्पर सहकार्य, समन्वय, सहअस्तित्व स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ । जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीको समेत महत्वपूर्ण भूमिका हुने हुँदा भरपुर सहयोग गर्न उनले कर्मचारीलाई पनि आग्रह गरेका छन् ।





