| मङ्लबार, कार्तिक २४, २०८३

पशुसेवा विज्ञकेन्द्र गोरखामा योवर्ष नयाँ तीनवटा कार्यक्रम थप, लाभग्राही छनौटको अन्तिम चरणमा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखामा यो वर्ष तीन वटा कार्यक्रम थपिएको छ । सामुदायिक स्तरमा भेँडा प्रबद्र्धन कार्यत्रम, पशुपन्छी स्रोत केन्द्र स्थापना कार्यक्रम र व्यवसायिक पशु फार्ममा मलमुत्र संरक्षण सहयोग कार्यक्रम थपिएको हो ।

योसँगै कुल १४ वटा योजनाका लागि प्रदेश सरकारले चालु बर्ष दुई करोड ७१ लख ५० हजार रुपैया बजेट विनियोजन भएर आएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् । हाल चालु आर्थिक वर्ष २०७९÷०८० मा कार्यान्वयन गर्ने योजनाहरुको छनौट प्रक्रिया सुरु गरेको उनले बताइन् । चालु वर्ष कार्यान्वयन गर्ने योजना प्रस्ताव संकलन र स्थलगत अनुगमन सकिएसँगै लाभग्राही छनौट प्रक्रिया सुरु गरेको कार्यालय प्रमुख कुमालले बताइन् ।

‘अहिलेसम्म सबै कार्यक्रमको लागि आएका प्रस्ताव संकलन कार्य सकेर छनौट गर्ने कार्य भइरहेको छ’, उनले भनिन्, ‘अवको एक÷दुई हप्तामा लाभग्राही कृषकको संख्या निर्धारण हुन्छ । त्यसपछि छनौट भएका कृषकहरुले कार्यालयमा आएर सम्झौता गर्न आउनुहुन्छ, त्यसपछि सबै योजना कार्यान्वय सुरु हुन्छ ।’

उनका अनुसार योवर्ष थपिएको कार्यक्रम मध्ये समुदायस्तरमा भेडा प्रवद्र्धन कार्यक्रमका लागि १० लाख बजेट प्राप्त भएको र यसमा चारवटा कृषक समूहले प्रस्ताव आएको छ । व्यवसायिक पशुफार्म मलमुल संरक्षण सहयोग कार्यक्रमका लागि १२ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । २१ जना कृषकले प्रस्ताव हालेकामध्य मापदण्ड पूरा गरेका आठ जनाले मात्र अनुदान पाउनेछन् । त्यस्तै, पशुपन्छी स्रोत केन्द्र स्थापना कार्यक्रमका लागि २० लाख विनियोजन भएर आएकोछ । यसमा तीन वटा समूहले प्रस्ताव पेश गरेका छन् भने जम्मा दुई वटा समूहले मात्र अनुदान पाउनेछन् ।

कार्यालयमा सबैभन्दा धेरै पशुमा पुर्ण खोप कार्यक्रम अन्तरगत ९० लाख रुपैया बजेट प्राप्त भएको छ । पालुङटार, सहिदलखन र भिमसेनथापा र आरुघाट गाउँपालिकामा यो कार्यक्रम लागु हुनेछ । अन्य पालिकामा यसअघिको वर्षदेखि लागु हुदै आए पनि आरुघाट गाउँपालिकामा भने यो वर्षबाट मात्र लागु हुन लागेको हो । पशुमा लाग्ने विभिन्न रोगहरु फैलिन नदिन, रोगसँग लड्न सक्ने क्षमता बढाउन र रोकथाम गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख कुमालले जानकारी दिइन् ।

उक्त कार्यक्रम संचालनका लागि कार्यालयले एक महिनाका लागि ३७ जनालाई छनौट गरिसकेको छ । हाल प्रदेशबाट खोप नआएका कारण कार्यक्रम सुरु नभएको र प्रदेशले खोप पठाएसँगै कार्यालयले उनीहरुलाई छिट्टै नियुक्ति दिएर पालिकामा खटाउने तयारीमा रहेको कार्यालय प्रमुख कुमालले बताइन् ।

उत्पादनमा आधारित प्रोत्साहन(दूधमा) दुई लाख विनियोजन भएकोमा यसमा जम्मा एक जनाको मात्र प्रस्ताव परेको छ । साना व्यवसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि ८० लाख बजेट विनियोजन भएर आएको छ । यसमा जम्मा ४० वटा कृषकले अनुदान पाउने छन भने कार्यालयमा दुई सय ५८ कृषकले प्रस्ताव हालेका छन् ।

विभिन्न पालिकाहरुमा नयाँ पोखरी निर्माणका लागि १८ वटा समूहबाट प्रस्ताव आएको छ । ५ लाख बजेट प्राप्त भएको यस कार्यक्रमका लागि एक हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ ।

घुम्ती गोठ संरक्षण कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन भएर आएको छ । यसमा दुई वटा समूहले अनुदान पाउने छन भने हाल सम्म आठ वटा समूहले प्रस्ताव प्राप्त भएको कार्यालयले जनाएको छ ।

चरन खर्क सुधार कार्यक्रम अन्तरगत चरण क्षेत्रमा नयाँ घाँस लगाउन ४ लाख बजेट विनियोजन भएर आएको छ । यसमा दुई वटा समूहले दुई÷दुई लाखका दरले पाउनेछन् । यसमा छ वटा समूहबाट प्रस्ताव आएको कार्यालय प्रमुख कुमालले जानकारी दिइन् ।

फार्म यान्त्रिकरण कार्यक्रम अन्तरगत २० लाख बजेट विनियोजन भएर आएकोछ । यसमा हाल सम्म ४८ जनाबाट प्रस्ताव आएको र ति कृषकहरुले स्थलगत अनुगमन गरेपश्चात वास्तविक कृषकलाई मात्र अनुदानका लागि छनौट गरिने कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् ।

जौ घाँसका वीउ उत्पादन प्रवद्र्धन कार्यक्रमका लाग ४ लाख बजेट विनियोजन भएर आएको छ । यसमा दुई वटा समूहले मात्र अनुदान पाउने छन भने कार्यालयमा ४ वटा समूहबाट प्रस्ताव प्राप्त भएको उनले जानकारी दिइन् ।

स्थानीय तहसँगको सहकार्य रेविज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई बन्ध्याकरण तथा खोप नियन्त्रणका लागि ४ लाख रुपैया बजेट प्राप्त भएको छ । उक्त कार्यक्रम संचालन भइरहेको उनले बताइन् । त्यस्तै, पशु स्वास्थ्य÷बाँझोपन शिविर संचालनका लागि सात लाख ५० हजार प्राप्त भएको र कार्यक्रम संचालनको तयारीमा रहेको उनले बताइन् ।

समूहगत रुपमा दिइने अनुदानमा कार्यालयको ९० प्रतिशत र समूहको १० प्रतिशत लागत बेहोर्नुपर्ने हुन्छ । त्यस्तै, व्यक्तिगत रुपमा दिइने अनुदानमा व्यक्ति र कार्यालयको ५०÷५० प्रतिशत लागन बेर्होनुपर्ने उनले जानकारी दिइन् ।

त्यस्तै, ८० वटा पाडी बाँच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमका लागि आठ लाख विनियोजन भएर आएको छ । पाडी बाच्छीको संख्या बढाउन र राम्रोसँग हुर्काउनका लागि उक्त बजेट विनियोजन भएर आएको हो । अन्य कार्यक्रममा प्रस्ताव संकलन कार्य सकिए पनि यसमा आगामी असारको पहिलो हप्ता सम्म प्रस्तावन संकलन हुनेछ ।

पाडी बाच्छी हुर्काउन कृषकहरुले प्रस्ताव पेश गर्न कार्यालय प्रमुख कुमालले आग्रह गरिन् । हाल सम्म ४१ जना कृषकले ५२ वटा पाडी बाँच्छी हुर्काउनका लागि प्रस्ताव प्राप्त भएको र अझै २८ वटा पाडी बाच्छीको प्रस्ताव आउन बाँकी रहेको उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्