
१५ महिना भित्रका सबै बालवालिकालाई खोप लगाउने अभियान
गोरखा जिल्लाभर १५ महिनाभित्रका बालवालिकाले सबै खोपको मात्रा पूरा गरुन भन्ने योजनासहित ‘खोज र खोप’ अभियान संचालन भएको छ । चैत महिनाभर कुन वडामा कहाँ बालवालिका खोप लगाउन छुटेका छन् भनेर खोजी गर्ने र बैशाख महिनाभित्र सबैलाई खोप लगाउने गरी योजना बनेको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।
पूर्ण खोप सुनिश्चितताकालागि हरेक स्थानीय तहलाई प्रदेश र संघ सरकारले बजेट समेत बिनियोजन गरेको छ । १५ महिनाभित्र लगाउनुपर्ने खोप बालबालिकाले लगाएको वा नलगाएको बारे पहिचान गर्न १६ देखि २३ महिना उमेर समुहका बालवालिकामा पनि सर्भेक्षण गरिनेछ ।
‘१५ महिना भित्र लगाउनुपर्ने हरेक खोप ९० प्रतिशत लगाएको खण्डमा मात्रै ‘पूर्ण खोप सुनिश्चितता’ घोषण गर्न सकिन्छ’, जनस्वास्थ्य निरीक्षक दानीले भने, ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन हरेकवर्ष वडा र पालिकाले घोषणा गर्दै जानुपर्छ ।’
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सरकारले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप गाउँ नगर हाम्रो प्रतिवद्धता’ भन्ने नारा लिएर यो अभियान संचालन गरेको हो ।
उक्त अभियान अन्तरगत स्वास्थ्य कार्यालय गोरखाले सबै स्थानीय तहका स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई अभिमुखीकरण गराइरहेको छ । १५ महिनाभित्रका सबै बालवालिकालाई कसरी खोपको पहुँचमा ल्याउने भन्ने योजनासहित तालिम संचालन गरिएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख नरजंग ठकुरीले बताए । सहिदलखन, भीमसेन, सिरानचोक र गोरखा नगरपालिकामा अभिमुखिकरण कार्यक्रम बाँकी रहेको उनले बताए ।
सन् २०१४ देखि नेपालमा पूर्ण खोप सुनिश्चितता कार्यक्रम सुरु भएको थियो । २०१६ मा करिब २१ प्रतिशत बालवालिका अझैपनि पूर्ण खोप पाउनबाट बञ्चित रहेको रिपोर्ट सार्वजनिक भएपछि सरकारले पूर्ण खोप सुनिश्चितता र दिगोपनकालागि कार्यक्रम संचालन गर्दै आएको छ ।
गोरखामा राष्ट्रिय खोप कार्यक्रमका सबै अभियान स्थानीय तहहरुले संचालन गरिरहेका छन् । तर यहाँ १५ महिना भित्रका सबै बालवालिकाले सबै खोप पाइसकेको सुनिश्चितता हरेक वर्ष भएको छैन ।
स्थायी ठेगाना भन्दा फरक ठाउँमा बालबालिका बसोवास गरेका कारण एकिन तथ्याङ्क आउन नसकेको स्वास्थ्य कार्यालयको अनुमान छ ।
पूर्ण खोप सुनिश्चितता र दिगोपन कायम राख्न हरेक वर्ष वडा खोप सुनिश्चित भएको घोषणा हुनुपर्छ । वडा घोषणा गर्न गाउँपालिकाले अनुगमनपछि अनुमति दिनेछ । वडा सकिएपछि गाउँ तथा नगरपालिका घोषणाको लागि जिल्ला खोप समन्वय समितिसँग अनुमति लिनुपर्छ ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समितिले अनुगमनपछि अनुमति दिनेछ । सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्न प्रदेशबाट अनुमति लिनुपर्छ ।
यसअघि गोरखा पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसके पनि अझै खोप लगाउन छुटेकाहरु भेटिन्छन् । स्थानीय तहको संरचना निर्माणपछि पुर्ण खोपयुक्त सुनिश्चितता जिल्ला घोषणा भने भएको छैन ।




