
गोरखामा प्रधानमन्त्री रोजगार कार्यक्रम : आवेदन दिने १३,५४७ रोजगारी पाउने २,७६०
केशव गुरुङ :
बेरोजगारको सिकार बनेर विदेशिने युवाहरुलाई स्वदेशमै राख्न सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित युवाहरुले अवसर पाएका छैनन् । रोजगारीका लागि आवेदन दिएकाहरुमध्य एक चौथाइले पनि रोजगारीको अवसर नपाएका हुन् ।
पालिकाहरुबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०७९÷०८० मा ११ वटै पालिकामा १३ हजार ५४७ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । उनीहरुमध्य जम्मा दुईहजार ७६० जनाले मात्र रोजगार पाउने भएका छन् ।
धार्चे गाउँपालिकामा चालु आर्थिक बर्षका लागि रोजगार बन्न सातसय ९२ जना(महिला ३४५, पुरुष ४४७)ले आवेदन दिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम खोज्दै आवेदन दिएका करिब आठसय जनामध्य जम्मा ५१ जनाले मात्र रोजगारी पाएका सो कार्यक्रमका संयोजक खगेन्द्र गुरुङले बताए । रोजगारी पाउने सातसय ४१ जनाको सपना गण्डकीमा बग्यो ।
सो कार्यक्रमअन्तरगत युवाहरुलाई रोजगार दिन धार्चेमा राज्यको ढुकुटीबाट ५९ लाख रुपैयाँ खर्च हुदैछ, तर आवेदन दिनेको अनुपातमा नगन्यले मात्रै रोजगारीको अवसर पाएका छन् ।
यो कहाली लाग्दो तथ्यांक धार्चेकोमात्र होइन, जिल्लाभरकै हो ।
गण्डकी गाउँपालिकामा सोही कार्यक्रमअन्तर्गत रोजगार बन्नका लागि १९ सय २४ जना(पुरुष ११ सय ८१ र महिला ७ सय ४३ जना)ले आवेदन दिएका छन् । उनीहरुमध्ये जम्मा तीनसय २२ जनाले मात्रै रोजागरी पाउने भएका रोजगार शाखाका संयोजक लक्ष्मण रेग्मीले बताए ।
राज्यकोषबाट ९८ लाख ९९ हजार रुपैया खर्च गरेर पनि गण्डकीका न्यून संख्याका युवाहरुले मात्रै रोजगारीको अवसर पाउने भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भई रोजगार बन्न चुमनुब्री गाउँपालिकाका सातसय ४८ जनाले निवेदन दिएपनि एक सय ५० जनाले मात्र रोजगारी पाउने पालिकाका रोजगार संयोजक लक्ष्मण गुरुङले बताए । राज्यको ढुकुटीबाट चुमनुब्रीका युवालाई रोजगार दिनका लागि ६६ लाख खर्च गरे पनि ज्यादै न्यून संख्याका युवाले मात्र काम पाउने भएका गुरुङले जानकारी दिए ।
गोरखा नगरपालिकाभित्र प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत रोजगार बन्न जम्मा दुईसय ९८ जनाले मात्र निवेदन दिएकामा ५१ जनाले मात्र रोजगारी पाउने भएका कार्यक्रम संयोजक सुजन श्रेष्ठले बताए ।
पालुङटार नगरपालिकामा १२ सय ९७ जना(४ सय ९९ महिला र ७ सय ९८ जना पुरुष)ले रोजगारका लागि आवेदन दिएका थिए । तर जम्मा एकसय २८ जनाले मात्र रोजगारीको अवसर पाएका रोजगार संयोजक कल्पना केशीले बताइन् । युवा रोजगार बनाउन गोरखा नगरपालिकालाई सरकारले रु. ८६ लाख रुपैयाँ उपलब्ध गराएको छ । तर लक्ष्यअनुरुपको प्रतिफल सकारात्मक छैन ।
अजिरकोट गाउँपालिकामा सोही कार्यक्रमका लागि पाँचसय ५२ जना(४४९ पुरुष र १०३ जना महिला) ले आवेदन दिएका थिए । यहाँ पनि जम्मा ६५ जनाले मात्र रोजगार पाएको कार्यक्रम संयोजक सञ्जु लामिछानेले बताइन् । राज्यको ढुकुटीबाट ४५ लाख रुपैयाँ लगानी भएपनि सो योजनामा न्यून संख्याका युवाहरु मात्र प्रभावित भएका छन् ।
शहिदलखन गाउँपालिकामा पनि सो कार्यक्रमका लागि पाँचसय ५०(३०९ महिला र २४१ पुरुष) जनाले निवेदन दिएका थिए । उनीहरु मध्यबाट जम्मा एकसय २० जनाले रोजगारी पाउने छन् । सरकारले युवालाई रोजगार दिने शीर्षकमा ४६ लाख रुपैया विनियोजन गरेपनि लाभान्वित हुनेको संख्या नगण्य रहेको रोजगार संयोजक प्रदिप श्रेष्ठले बताए ।
भिमसेनथापा गाउँपालिकामा आठसय ४४ जना(५०१पुरुष र ३४३महिला) जनाले रोजगारका लागि आवेदन दिएका थिए । तीमध्य १३० जनाले मात्रै रोजगारी पाउने पालिकाका रोजगार संयोजक प्रदिप भट्टले बताए । उक्त कार्यक्रम संचालनका लागि सरकारले ५८ लाख रुपैयाँ खर्च गर्दैछ तर लाभान्वित युवा संख्या भने न्यून छ ।
बारपाक सुलिकोट गाउँपालिकमा तीनहजार एकसय २२ जनाले आवेदन दिएकामा १४ सय ४३ जनाले मात्र रोजगार पाउने भएका छन् । त्यसका लागि कुल एक करोड ४१ लख ९९ हजार रुपैया खर्च हुदैछ । आरुघाट गाउँपालिकामा सो कार्यक्रमका लागि दुईहजार चारसय ५५ जना(पुरुष १४०५ र महिला १,०५०)ले आवेदन दिएकामध्ये दुईसय आठ जनाले मात्र रोजगारी पाउने पालिकाका रोजगार संयोजक महेश खत्रीले बताए । यसका लागि राज्यकोषबाट एक करोड १९ लाख ९९ हजार रुपैयाँ खर्च हुदैछ ।
सिरानचोक गाउँपालिकामा नौ सय ६५ जना(६३३ पुरुष र ३३२महिला)ले आवेदन दिएकामा जम्मा ५२ जनालेमात्र रोजगार पाउने पालिकाका रोजगार संयोजक उत्तम वस्तीले बताए । त्यसका लागि ६१ लाख रुपैया खर्च हुदैछ ।
राज्यको लगानी र लाभान्वित युवाहरुको संख्या विश्लेषण गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित प्रतिफल हासिल गर्न सकेको देखिएको छ ।




