| आइतवार, कार्तिक २२, २०८३

गोरखाका महिला स्वास्थ्य स्वयंसेविकालाई हातहातै प्रोत्साहन भत्ता

गोरखाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिन थालिएको छ । स्वास्थ्य कार्यालयले हातहातै उनीहरुलाई भत्ता दिन थालेको हो ।


प्रदेश सरकारमार्फत उनीहरुलाई उपलब्ध गराइँदै आएको जनही छ हजार रुपैयाँ बितरण भइरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । कतिपय स्वयंसेविकाहरुले खाता संचालन गर्नु भएको रहेनछ, उहाँहरुलाई भत्ता लिन गोरखा बोलाउँदा थप खर्च र समय लाग्ने भयो’, उनले भने हामीले हातहातै बितरण गरिरहेका छौँ, अब खाता खोल्नुहोस् अर्को वर्ष बैंकबाट आउँछ पनि भनेका छौँ ।’


गतवर्ष पालिकाको स्वास्थ्य शाखामार्फत भत्ता बितरण गरिएको थियो । उक्त भत्ता पाए-नपाएको, बितरण कसरी भएको बारेमा अध्ययन गर्न पनि स्वास्थ्य कार्यालयले यसवर्ष आफैँ बितरण गरेको जनाएको छ ।


गण्डकी गाउँपालिकामा ५४ जना, धार्चे गाउँपालिकामा ५४ जना, आरुघाटमा ४५ जना, अजिरकोटमा ४५ जना र भिमसेन थापामा ५४ जनालाई भत्ता बितरण गरिसकिएको छ । बाँकी पालिकाका स्वयंसेविकालाई क्रमश बितरण हुने जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।


नेपाल सरकारले गाउँपालिकामार्फत संघीय सशर्त अनुदानको १२ हजार रुपैयाँ र पोशाक भत्ता १० हजार स्वयंसेविकालाई उपलब्ध गराउँदै आएको छ । गोरखा जिल्लाभर छ सय २४ जना स्वयंसेविकाको दरबन्दी छ । यी सबैलाई प्रोत्साहन रकम उपलब्ध गराउने स्वास्थ्य कार्यालयले जनाएको छ ।


महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहहरुले पनि प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउँदै आएका छन् । अहिले स्थानीय तहहरुले पनि स्वयंसेविकाको लागि सेवा सुविधा थपेका छन्’, स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले भने ।


खोप, भिटामिन ए, जुकाको औषधी लगायत बिभिन्न राष्ट्रिय अभियानमा महिला स्वास्थ्य स्वयंसेविकालाई खटाईँदै आइएको छ । गर्भवती, सुत्केरी महिला, बच्चाको अवस्थाको रेकर्ड राख्न, समुदायमा स्वास्थ्य सचेतना फैलाउन, बिभिन्न स्वास्थ्य संम्बन्धी कार्यक्रममा उनीहरुलाई सरिक गराउने गरिएको जनस्वास्थ्य निरीक्षक दानीले बताए ।

प्रतिक्रिया दिनुहोस्