| आइतवार, कार्तिक २२, २०८३

धार्चे गाउँपालिकाद्वारा १८ जनालाई रक क्लाईम्बिङ सम्बन्धी आधारभूत तालिम

धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा भएको तीनदिने आधारभूत रक क्लाइम्बिङ तालिम सकिएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री टूेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट शनिवारसम्म तालिम आयोजना भएको कार्यक्रम संयोजक श्रीलाल गुरुङले बताए ।

नेपालकै प्रथम अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ तालिमको प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए । तालिममा वडा नं १ देखि वडा नं. ७ सम्मका १८ जनाको सहभागिता रहेको थियो । रक क्लाइम्बिङको पथप्रदर्शक बन्न इच्छुक भएका र यही क्षेत्रमा केही गर्छु भन्ने व्यक्तिहरुलाई तालिम दिएको कार्यक्रम प्रमुख प्रशिक्षक सुनार गुरुङले बताए ।

रक क्लाइम्बिङ क्षेत्रमा आवद्ध धार्चेका ८ जनाको टोलीले प्रशिक्षार्थीहरुलाई तालिम दिएका थिए । साहसिक पर्यटकहरुका लागि खोर्लाबेसीको भीरमा रक क्लाइम्बिङ गर्न धेरै सहज हुने भएकाले मनास्लु पदमार्ग भएर जाने पर्यटकले पनि रक क्लाइम्बिङको मज्जा लिन सकिने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । अघिल्लो वर्ष रुट निर्माणको काम सम्पन्न भएको थियो । नेपाल को प्रसिद्ध मनास्लु पदमार्गमा पर्ने खोर्लाबेशीको रक क्लाइबिङका कारण पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने पालिकाले विश्वास लिएको छ ।


शनिवार गाउँपालिका का अध्यक्ष लक्ष्मण गुरुङ, प्रमुख प्रशिक्षण सुनार गुरुङले सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा बोल्ने सहभागीहरुले गाउँपालिकासँग रक क्लाईम्बिङको एड्भान्स तालिम पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्