| बिहिबार, साउन २७, २०८३

गण्डकी गाउँपालिकाका किसान व्यवसायिक तरकारी खेतीमा तल्लीन

गण्डकी गाउँपालिकाका ६ बटुकीका भक्तबहादुर राना मगर, प्रेम राना मगर र थुम्काकी झलकमाया प्रजा व्यवसायिक तरकारी किसान हुन् । उनीहरु सिजनअनुसारका तरकारी बेचेको आम्दानीले आफ्नो परिबार पाल्न र आइपर्ने विभिन्न गर्जो सजिलैसित टार्न सफल भएका छन् ।

उनीहरु मात्र होइन, यस पालिकाकाको पृथ्वीराजमार्गतर्फ उन्मुख वडा नं. २, ६, ७ र ८ का किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

बटुकीका ५९ बर्षीय भक्तबहादुर राना मगर व्यवसायिक तरकारी खेतीमा तल्लीन भएको १८ बर्ष भयो । ‘घ्याल्चोक फाँट तरकारीले ढाकेको देखेर म पनि तरकारीतिर पल्केको हो’, राना मगर भन्छन्, ‘सुरुसुरुमा सिकोडर, सप्रोस संस्थाहरुले पनि सघाएका थिए । अनि सबैजना सिजनअनुसारको र बेमौसमी तरकारी खेती गर्न थालेको हो ।’

अहिले उनको गाउँका १८ घरमध्य सबै जना तरकारी खेती गर्छन् । ‘अहिले टमाटर, काँक्रोको बिउ जमाउने सिजन हो’, उनी भन्छन्, ‘तपाई देख्न सक्नुहुन्छ, सबको खेतबारीमा प्लास्टिक टनेल छन् । उता पारि पनि हेर्नुस् त, पाखैभरि टनेलैटनेलले ढाकेको छ ।’ प्रत्येक किसानले कम्तिमा चार, पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने उनले बताए ।
चैत, वैशाखको सिजनमा काँक्रो मात्रै बेचेर चारदेखि पाँचलाख रुपैयाँ आम्दानी गर्ने अर्का किसान प्रेम राना बताउँछन् ।

‘पोहोर मात्रै यो बारीबाट मैले १७ क्वीण्टल काँक्रो निकालेँ’, उनी भन्छन्, ‘सिजनअनुसार टमाटर, काँक्रो, घिरौँला, भेँडी, काउली, बन्दा, बोडी, सिमी हुन्छ । धेरै त भन्न सक्दिन, यहाँका दुख गर्ने किसानले घर गृहस्थी चलाउन खाडी जानु पर्दैन ।’ पहिले आफ्नै बारीको उत्पादनले छ महिना पनि खान धौ–धौ हुने यस भेगका किसानलाई तरकारी खेतीतिर लागेपछि खानेकुराको चिन्तै हुन छाडेको उनको भनाइ छ । साथै तरकारी बेचेर कमाएको पैसाले चाडपर्व मान्न, ओखतीमुलो गर्न, छोराछोरी पढाउन पनि सजिलो भएको किसानहरुको भनाइ छ ।

बिगत दुई बर्ष कोभिडका कारण यहाँका किसानले पनि दुख नपाएका होइनन् । ‘छुतछात हुन्छ भन्ने डरले एउटा गाउँबाट अर्को गाउँ जान नपाउने अबस्था थियो । त्यसैले कोरोनाले गर्दा परार खाने बेला भएका काँक्रो त्रिशुलीमा बगाइयो । पोहोर पनि राम्रो भाउ पाइएन’, उनले भने, ‘नत्र बिउ, मल, टनेल यसोउसो गर्दा एकलाख जति खर्च हुन्छ । तीन–चार लाख चोख्खो बच्छ ।’ स्थानीय स्तरमा गठन भएका कृषि सहकारीहरुले बजार व्यवस्थापनमा मद्दत गरिरहेका छन् ।

तरकारी खेतीले यहाँका किसानलाई खुशी त दिएको छ, तर सिँचाइ अभावले निक्कै सताउने गरेको छ । ‘पहिले त जताततै पानीको मूल थियो, भूकम्पपछि पानीको मूल सुक्यो । अहिले सिँचाइ गर्न धेरै मुस्किल छ’, भक्तबहादुर राना मगर भन्छन्, ‘किसानलाई धेरै बजेट छुट्याएको छ भनेर रेडियोले त भन्छ तर हाम्रो समस्या कसले सुन्ने हो थाहा छैन । वडा अध्यक्षलाई पनि भनेको हो खै केही व्यवस्था भएको छैन । जेटिए पनि कहिल्यै आएको देखेको छैन ।’

सरकारले गाउँमा मोटरबाटो बनाइदिएपछि तरकारी फिस्लिङ बजारसम्म झार्न सजिलो भएको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्