| सोमवार, कार्तिक २३, २०८३

गोरखामा एक लाख भन्दा बढीको राष्ट्रिय परिचय पत्रको विवरण संकलन

दुईलाख ४९ हजार ५१ जनसंख्या गरेको गोरखामा एकलाख भन्दा बढिको राष्ट्रिय परिचय पत्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विभिन्न वडामा परिचालित टोलीबाट मात्र एक लाख १५ हजार नौ सय ८७ जनाको परिचय पत्रको विवरण संकलन गरिएको छ ।

कार्यालयका अनुसार गोरखा नगरपालिकामा १८ हजार ८ सय ३१ जना, पालुङटार नगरपालिकामा १८ हजार सात सय ४९ जना र सिरानचोक गाउँपालिकमा नौ हजार नौ सय ८६ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

अजिरकोट गाउँपालिकामा पाँचहजार पाँचसय ९८ जना, आरुघाट गाउँपालिकामा आठहजार ९४ जना, गण्डकी गाउँपालिकामा १३ हजार छसय २ जना र धार्चे गाउँपालिकामा पाँचहजार नौसय तीन जनाको विवरण संकलन भएको उनले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकामा छ हजार छ सय ९५ जना, बारपाक सुलिकोट गाउँपालिकामा नौ हजार चार सय ८६ जना, सहिदलखन गाउँपालिकामा १४ हजार दुई सय ९० जना र चुमनुब्री गाउँपालिकामा दुईहजार एकसय ३१ जनाको विवरण संकलन भएको उनले बताए । सुरक्षा निकाय, कर्मचारी लगायतका बाहिर जिल्लाका व्यक्तिहरु गरी अन्यमा दुईहजार चारसय ३२ जनाको पनि विवरण संकलन भएको छ ।

गोरखामा ७० प्रतिशत जनसंख्याको विवरण संकलन गर्ने उद्देश्य सहित साउन १५ गते सुरु गरेको राष्ट्रिय परिचयपत्र संकलन अभियान देखि पुस २५ गते सकिएको हो । करिब छ महिनापछि परिचयपत्र संकलन अभियान सम्पन्न भएको सहायक प्रजिअ बरालले बताए । राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागबाट आएको टोलीले गोरखाका ११ वटै स्थानीय तहको प्रत्येक वडामा पुगी विवरण संकलन गरेको हो ।

प्रत्येक वडामा स्टेशन खडा गरी दश दिन भन्दा बढी बसेर राष्ट्रिय परिचय पत्र संकलन गरेको थियो । वडामा अफलाइनमा इन्ट्री गरेका सबैको विवरण अनलाइनमा अपग्रेड भइसकेको बरालले जानकारी दिए । गोरखामा खटिएको टोली अव लमजुङ जानेछ ।

सरकारको नीति अनुसार सबै नागरिकको विवरण समेट्ने योजना अनुरुप परिचयपत्र संकलन अभियान संचालन गरिएको हो । अभियानबाट एकलाख भन्दा बढीको विवरण संकलन भएता पनि जिल्ला प्रशासन कार्यालयमा रहेको परिचयपत्र बनाउने कक्षमा मानिसहरुको भिड अझै रहेकाले जनताको सेवा प्रवाहमा सहज बनाउन फेरि एउटा स्टेशन थप गर्न लागेको उनले बताए ।

राष्ट्रिय परिचयपत्र र राहदानीमा थप एक÷एक स्टेशन थप गर्नका लागि सम्बन्धित विभागमा पत्रचार गरिसकेको उनले जानकारी दिए । यदि कुनै समस्या, अथवा गुनासो आएमा ती समस्यामा समाधान गर्न सधै तत्पर रहेको समेत उनले बताए ।

के हो राष्ट्रिय परिचय पत्र ?

नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरिकलाई बहुउपयोगी राष्टिूय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याइएको हो । राष्ट्रिय परिचय पत्रलाई अन्तर्राटिूय मापदण्डको डिजिटल कार्ड भन्दा हुन्छ । राष्ट्रिय परिचय पत्रमा हातको दश औंठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झञ्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ ।

कुुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

एकजना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन् ।

राष्टिूय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको हुन्छ । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्टिूय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र, मतदाता परिचयपत्रको रूपमा काम गर्नेछ भने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । हाल राहदानीमा मात्र परिचय पत्र लागु गरिएको छ ।

आगामि दिनमा नागरिकता, सवारी चालक अनुमतिपत्र, मतदाता नामावली, सामाजिक सुरक्षा, बैक तथा वित्तीय संस्थाको कारोबार, स्वास्थ्य सेवा, राजस्व संकलन, व्यक्तिगत घटना दर्ता र अपराध अनुसन्धान लगायतका क्षेत्रमा समेत राष्ट्रिय परिचय पत्र लागु हुने विभागले जनाएको छ ।

अवको दुई वर्षभित्र परिचयपत्र पाउन योग्य सबै नागरिकको विवरण संकलन गर्ने र एक करोड नागरिकलाई परिचय पत्र उपलब्ध गराउनुका साथै पाँच वर्ष भित्र सबै नागरिकलाई राष्टिूय परिचयपत्र उपलब्ध गराउने विभागको लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्