| सोमवार, कार्तिक २३, २०८३

नारेश्वर–ताकुकोट सडक ठेकेदारको लापर्वाहीले पिच भएन : काम सकिन ६ महिना बाँकी हुँदा १२ प्रतिशत मात्रै काम

गोरखाको नारेश्वरदेखि ताकुकोट सम्मको १० किलोमिटर सडक निर्माण ब्यवशायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन । काम सकिन ६ महिना बाँकी रहँदा उक्त सडकको भौतिक प्रगती अहिले १२ प्रतिशत मात्रै रहेको पूर्वाधार बिकास कार्यालयका सडक इन्जिनियर दिपक बस्न्यातले बताए ।

२३ करोड ७५ लाखमा २०७८ असार २९ गते पूर्वाधार कार्यालय सँग ठेक्का सम्झौता गरेको अमर÷ज्ञानेश जेभिले कालोपत्रेको काम सुरु नै गरेको छैन । अबको छ महिनामा अर्थात २०८० असार २५ गते निर्माण जिम्मा लिएको कम्पनीले काम सम्पन्न गर्ने सम्झौता गरेको इन्जिनियर बस्न्यातले बताए । तर यो अवधीमा काम सम्पन्न हुने छनक देखिँदैन । अहिले भएको गतीमा काम हुने हो भने अबको छ महिनामा चार प्रतिशत मात्रै काम हुन्छ ।

‘निर्माण ब्यवशायीलाई काम छिटो गर्न ताकेता गरिरहेका छौँ’ पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङगानाले भने ‘न्यून कार्यप्रगतीको बारेमा हामीले तीन पटक पत्राचार गरिसक्यौँ तर पनि ब्यवशायीले काम गरेनन ।’

कार्यालयले २०७९ जेठ २३ गते, असोज ३० गते र गत पुस १२ गते निर्माण कम्पनीलाई काम छिटो गर्न भन्दै पत्राचार गरेको छ । तर ब्यवशायीले पत्रको बेवास्था गरेर काम गरेका छैनन् । सात महिनादेखि राम्रो सँग उक्त खण्डमा काम हुन नसकेको, जनशक्ति र उपकरण नदेखिएकाले काम समयमै सकिने आशंका गर्दै तत्कालअघि बढाउन कार्यालयले भनेको छ ।

‘लामो समय सम्म निर्माण कार्य बन्द हुनु कार्यसञ्चालनकालागि प्रदान गरिएको अग्रिम भुक्तानी दुरुपयोग हुनु हो’ कार्यालयले पत्रमा भनेको छ । साथै कार्यालयले उपलब्ध गराएको अग्रीम भुक्तानी रकम फिर्ताकालागि बैंकलाई पत्राचार गर्ने ब्यहोरा पनि निर्माण ब्यवशायीलाई जानकारी गराइएको कार्यालय प्रमुख ढुङ्गानाले बताए ।

नारेश्वर(पडिँनी चौतारा(निबेल(ताकुकोट खण्डमा काम रोकिएको हो । उक्त खण्डको चार सय मिटर सडक भने मध्यपहाडीमा पर्ने भएकाले त्यस क्षेत्रमा यी ब्यवशायीले काम नगर्ने कार्यालयले जनाएको छ । सडक समयमै कालोपत्रे नहुँदा स्थानीयले आउजामा सास्ती खेप्न बाध्य छन् । समयमै सडक कालोपत्रे नभएको चौतर्फी गुनासोपछि निर्माण ब्यवशायी, बारपाक सुलिकोट गाउँपालिका र पूर्वाधार कार्यालय बिच त्रिपक्षिय बैठक पनि भएको थियो ।

२०७९ मंसिर १६ गते गाउँपालिका कार्यालयमा भएको बैठकमा ५५ जना जनशक्तिबाट काम गराउने, उपकरण थप्ने, पुस महिना भित्र ४ किलोमिटर काम सक्ने, माघ महिना सम्म थप चार किलोमिटर सक्ने सहमती भएको थियो । गाउँपालिका अध्यक्ष बिष्णु भट्ट सहितको उपस्थितीमा भएको बैठकमा निर्माण ब्यवशायीले निर्माणका क्रममा सडक अवरुद्ध हुने, आउजाउमा असहज हुने समस्या समाधान गर्ने निर्णय भएको छ । ‘निर्णय भएपनि त्यो अनुसार ब्यवशायीले काम गरेनन’ पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भने ।

निर्माण कम्पनीका इन्जिनियर शुसिल आचार्यले सम्झौता अवधी भित्र काम पुरा नहुने बताए । ‘यस अघि काम हुन सकेन, अहिले काम भईरहेको छ हामीले गती बढाएर काम गर्दैछौँ’ उनले भने । गत वर्ष निर्माण सामग्रीमा भएको मूल्यवृद्धी, लामो समय सम्म वर्षात भएकाले काम गर्न समस्या भएको उनले बताए ।

‘अब निर्माण सामग्रीपनि ल्याउन थालिएको छ, कामलेपनि गती लिन्छ’ इन्जिनियर आचार्यले भने । उक्त खण्डमा प्रिमिक्स कार्पेट कालोपत्रे हुनेछ ।

निर्माण कम्पनीले समयमै काम नगर्दा जनप्रतिनिधिलाई स्थानीयले सडक नबनेको, निर्माण ब्यवशायीलाई दबाव दिन नसकेको भन्दै गुनासो गरेका छन् । निर्माण ब्यवशायीले काम नगर्दा कार्यालयपनि आजित छ ।

प्रतिक्रिया दिनुहोस्