| आइतवार, कार्तिक २२, २०८३

गण्डकी गाउँपालिकामा लघुवित्तका कर्मचारी र ऋणी बीच हात हालाहाल

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ । ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि सो लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका ६ लुप्राङकी डल्लीमाया चेपाङ बीच हात हालाहाल भएको हो ।

‘भनाभन भइरहेको थियो । जगत सर ममाथि झम्टिन आउनुभयो । मेरो कपाल र कुममा समात्नु भयो’, ४८ बर्षीया चेपाङले भनिन्, ‘अनि शोभा मिसले यसो गर्नुहुदैन भन्दै कराउँदै आउनु भयो । अनि मैले पनि उहाँको हात छुटाएर धकेल्दिएको हुँ । मलाई आफ्नो श्रीमानले त हातपात गर्नुभएको छैन । अरु मान्छेले हात हाल्न पाउँछ ?’ जथाभावी मुख पनि छाडेको, हात पनि छाडेको उनको गुनासो छ ।

उनले कोरोना लकडाउनभन्दा अघि सो लघुवित्तबाट तीनलाख रुपैयाँ ऋण लिएकी थिइन् । तरकारी बेचेर नियमित किस्ता तिरिरहेकी उनले लकडाउन सुरु भएपछि किस्ता तिर्न नसकेको बताउँछिन् । ‘तरकारी बेचेर किस्ता तिरिरहेको थिएँ । लकडाउन भएपछि तरकारी बिक्न छोड्यो अनि किस्ता तिर्न सकिन’, उनी भन्छिन्, ‘उनीहरुले कालोसूचीमा राखे । अनि जहिले पनि बाटामा भेटे बाटामा, घाटमा भेटे घाटमा, कहिले झुण्डेर मर् भन्छन्, कहिले त्रिशुलीमा हाम्फालेर मर् भन्छन् । पोल–पोलमा तेरो फोटो झुण्ड्याएर बेइज्जत गर्छौँ भन्छन् ।’ छोरा विदेश जान लागेको छ । विदेशबाट पैसा पठाउँछ अनि तिर्छु भन्दा पनि नमानेको उनको भनाइ छ ।

मिटरव्याजी साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिने र लघुवित्तको ऋण तिर्न फेरि साहुसित मिटरब्याजमा ऋण लिने गर्दा आफूहरुको अबस्था नाजुक हुदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्