| आइतवार, कार्तिक २२, २०८३

गोरखामा नदीजन्य सामग्रीको विधिवत उत्खननमा ढिलाइ हुँदा चोरी तस्करी बढ्यो

गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन कार्य सुरु गरेका छैनन् । उत्खनन गर्न पाउने अवधि जम्मा पाँच महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आव्हानै नगरेको र कतिपयले भर्खरै ठेक्काको सूचना प्रकाशन गरेको जनाएका छन् ।

विधि र प्रक्रियाअनुसार उत्खनन हुन नपाउँदा कतिपय घाटहरुमा ढुंगा, गिटी, बालुवा चोरी भइरहेका छन् । ‘विधिवत रुपमा उत्खनन नभएपछि घाटबाट धमाधम ढुंगा, गिटी, बालुवा चोरी भएका छन् । सामग्री चोरी भएका घाटबाट निर्धारित परिमाणमा ढुंगा, गिटी, बालुवा नपाउने भएकाले ठेकेदारले ठेक्का हाल्न मुस्किल हुने भएको छ’, पालुङ्टार नगरपालिका ९का वडाअध्यक्ष भेजराज पाण्डेले भने ।

गतबर्ष ठेक्का नलागेपछि यसबर्ष पनि ठेक्का आव्हान नगरेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । ‘गतबर्ष पनि ठेक्का आव्हान गरेका हौँ । एउटा पनि आवेदन परेन । अनि प्रदेशले निर्धारण गरेको दररेटमा पालिकाले नै उत्खनन गरेर बेचेका थियौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले भने, ‘त्यसैले यसबर्ष पनि ठेक्का आव्हान गरेनौँ । गण्डकी प्रदेशले जारी गरेको आर्थिक ऐन अनुसार पालिकाले नै विक्री वितरण गरिरहेको छ ।’ प्रदेश सरकारले निर्धारण गरेको प्रतिघनफिट गिटीको ७ रुपैयाँ र ढुंगाको प्रतिघनफिट १० रुपैयाँ दरले बिक्री गरिरहेको उनले बताए ।

पालिकाले खहरे, बालुवा पुल देखि राङरुखसम्मका घाटहरुबाट नदीजन्य सामग्री उत्खनन गरिरहेको जनाएको छ ।
अन्य काममा व्यस्त हुनु परेकाले नदीजन्य सामग्री उत्खननको सूचना जारी गर्न नसकिएको गण्डकी गाउँपालिकाले जनाएका छन् । ‘कार्यपालिका व्यस्ता भएका कारण नदीजन्य सामग्री उत्खननतिर ध्यान दिन सकिएको छैन’, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भने, ‘भर्खर कार्यपालिकाको वैठक सकिएको छ । नदीजन्य पदार्थ उत्खननका लागि आईई पनि भर्खरै स्वीकृत भएको छ । अव छिटै टेन्डर आह्वान गरी प्रक्रिया सुरु हुन्छ ।’

असोजमै सूचना निकाले पनि ठेकेदारहरुले आवेदन दिन नआएको अजिरकोट गाउँपालिकाले जनाएको छ । ‘असोजमा सूचना निकालेको हो, तर ठेक्का लागेन’, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले भने, ‘ठूलो परिणाममा भएर ठेक्का नलागेको हुन सक्छ । त्यसैले केन्द्रको रेट अनुसार पालिकाले शुल्क लिएर धमाधम नदीजन्य समग्री बेच्ने गरेका छौं ।’ खलुङ कुना, ठडी बगर, बालुवा, ढोडेनी र वडा नं ५ र ४ का विभिन्न घाटबाट उत्खनन गरेको उनले बताए ।

भिमसेनथापा गाउँपालिकाले भने भर्खरै घाटहरुको आईईईको प्रक्रिया सुरु गरेको जनाएको छ । ‘हामी नदीजन्य पदार्थ उत्खननका लागि आइइइको चरणमा छौँ’, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी भन्छन्, ‘व्यवस्थित र सहि तरिकाले उत्खनन गर्न छलफल गर्न बाँकी नै छ ।’ सबै घाटहरुलाई एउटै प्याकेजमा सूचना निकाल्न लागेकाले ढिलाई भएको उनले बताए ।

गोरखा नगरपालिकाले हालै उत्खननबारे ठेक्का आव्हान गरिएको जनाएको छ । ‘दरौँदी र मस्र्याङ्दीको १४ वटा घाटको उत्खनन सम्बन्धी सूचना जारी गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृतले भने, ‘अबको एक महिनापछि धमाधम उत्खनन सुरु हुनेछ ।’

सहिद लखन गाउँपालिकाले गत असोजको पहिलो साता चारवटा घाटमा उत्खननका लागि ठेक्का आव्हान भएको तर कसैले पनि आवेशन नगरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगरले जानकारी दिए । ‘एक महिनाको अवधि राखेर सूचना निकालेका थियौँ, तर खै सामग्री कम भएर हो कि, अथवा किन हो कुनै ठेकेदारहरुले आवेदन गरेनन्’, उनले भने, ‘अब के गर्ने भनेर पालिकामा आन्तरिक छलफल भइरहेको छ ।’

यस बिषयमा जानकारी लिन पालुङ्टार, धार्चे, सिरानचोक र आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग टेलिफोन सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस्