
गण्डकीको गैरीचौतारा स्वास्थ्यचौकीमा स्थानीयले ताला लगाए
गण्डकी गाउँपालिका वडा नं. ४ स्थित गैरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयबासीले ताला लगाएका छन् । वडा कार्यालयसित समन्वय नगरी गाउँपालिकाको स्वास्थ्य शाखाले पुरानो भवनबाट सेवाकेन्द्र नयाँ भवनमा स्थानान्तरण गर्न लागेको भन्दै स्थानीयले ताला लगाएका वडाअध्यक्ष राजु भण्डारीले बताए ।
ताला लगाएपछि नयाँ भवनमा सेवा केन्द्र सञ्चालन गर्न नसकिएको स्वास्थ्य शाखाले जनाएको छ । यसअघि केराबारीस्थित कालीका आधारभूत विद्यालयको एउटा भवन लिएर स्वास्थ्य सेवाकेन्द्र सञ्चालिन गरिएको थियो । केन्द्र सरकारको करिब ४० लाख रुपैयाँ लागतमा सो स्वास्थ्य सेवा केन्द्र भवन निर्माण भएको थियो ।
वडा कार्यालय तथा स्वास्थ्य सेवा केन्द्र सञ्चालक समितिसित समन्वय नगरीकन नयाँ ठाउँबाट सेवा सुरु गर्न लागेकाले रोकिएको वडाअध्यक्ष भण्डारीले बताए । ‘म अधारभूत स्वास्थ्य केन्द्र सञ्चालक समितिको अध्यक्ष हुँ तर मलाई पनि पत्तो नदिईकन गाउँपालिकाको स्वास्थ्य शाखाले बलपूर्वक पुरानो भवनका सामान नयाँ भवनमा ओसार्न थाले’, भण्डारीले भने, ‘त्यसैले स्थानीयबासीले स्वतस्फूर्त ताला लगाएका हुन् । पुराना भवन भएको ठाउँबाट अहिले उद्घाटन भएको ठाउँमा पुग्न तीन किलोमिटर हिड्नुपर्छ । पुरानो ठाउँमा कसरी स्वास्थ्य सेवा दिने भन्ने बारे निश्चित नभै नयाँ ठाउँमा सार्न नदिने उनको भनाइ छ ।
वडाहरुको नयाँ संरचना हुँदा स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गर्न केन्द्र सरकारबाट बजेट बिनियोजन भएको थियो । गण्डकी गाउँपालिकाको वडा नं. ४ र वडा नं. ७ मा संगसंगै टेण्डर भएर एकसाथ भवन निर्माण भएको थियो । ‘वडा नं. ७ को स्वास्थ्य सेवाकेन्द्र सञ्चालन भएको सात महिना भइसक्यो, तर वडा नं. ४ को भने भवन निर्माण भइसकेर पनि माकुराले जालोलगाएको थियो ।
‘कालिका प्राविको भवनबाट स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको थियो । गैरीचौतारामा स्वास्थ्य सेवाकेन्द्र भवनका लागि बजेट आयो’, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनार भन्छन्, ‘भवन बनेको पनि सात महिना भइसक्यो, विभिन्न बहानामा संचालन गर्ने छाँटकाँटै आएन । माकुराले जालो लगाइसक्यो तैपनि नयाँ भवनबाट सेवा सुरु नभएपछि आजबाट सञ्चालन गर्ने भनेर उद्घाटन गरिएको थियो । तर तालाबन्दी भयो । स्वास्थ्य सामग्री, औषधी, कागजपत्रहरु ल्याउन पाइएन ।’
साविकको स्वास्थ्य केन्द्र भएको ठाउँमा पनि र नयाँ ठाउँमा पनि सेवा सञ्चालन गर्न सकिने अबस्था हुँदाहुँदै पनि ताला लगाउनु जायज नभएको उनको भनाइ छ ।




