| आइतवार, कार्तिक २२, २०८३

पुस २७ देखि ११औँ गोरखा महोत्सव हुने

आउँदो पुस २७ गतेदेखि ११औँ गोरखा महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघले ३०१औँ पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेदेखि १० दिने गोरखा महोत्सव आयोजना गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘गोरखाका लागि पृथ्वीजयन्ती एक ऐतिहासिक उत्सव हो, त्यसैले हामीले सोही दिनबाट यहाँ महोत्सव गर्न लागेका छौँ’ संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ।

संघले यसअघिका भन्दा फरक किसिमले महोत्सव गर्ने योजना बनाएको छ । महोत्सवमा म्यान अफ द गोरखा दौड प्रतियोगिता, औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, खाना महोत्सव, नृत्य प्रतियोगिता, हाँस्यब्यङ्ग्य प्रहशन, गोरखा तारा छनौट, बक्तृत्वकला, रत्यौली गीत प्रतियोगिता लगायतका कार्यक्रम हुने बताइएको छ । ‘महोत्सवभित्रका स्टलमा लुगा कपडा, फेन्सीका स्टल हुँदैनन्’, संघका अध्यक्ष श्रेष्ठले भने, ‘यहाँका स्थानीय ब्यापारीको अनुरोध र समस्यालाई बुझेर हामीले अन्यत्रबाट त्यस्ता स्टल नराख्ने निर्णय गरेका हौँ ।’

उनले कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीलाई प्रदर्शनी र बिक्रीका लागि स्टल दिइने बताए । घरेलु, कृषि उत्पादनका स्टललाई सहुलियतमा ब्यापार गर्ने अवसर महोत्सवले सिर्जना गरेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सव संचालन गर्न ५१ लाख ८१ हजार खर्च हुने र पाँच लाख ५० हजार बचत हुने अनुमान संघको छ । ‘बचत भएको रकम ब्यवशायीको हकहित, संघको बहुउद्देश्यीय सभाहल निर्माण पूरा गर्न, जिल्लामा पर्यटनका कार्यक्रम संचालन गर्न र पत्रकार महासंघ गोरखाको भवन निर्माणमा पनि केही सहयोग गर्ने योजना छ’ महोत्सवका मुल संयोजक समेत रहेका संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ।

महोत्सव सम्पन्न गर्न बिभिन्न ब्यापारिक प्रतिष्ठान, संघ संस्था, स्थानीय तह, प्रशासनसँग छलफल र सहकार्य भइरहेको संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केले बताए । ‘यो महोत्सवले गोरखाको प्रचार प्रसार धेरै होस्, पर्यटन बढुन् भन्ने पनि चाहना हो’, उनले भने । प्रायोजक, सहप्रायोजककालागि उद्योग र कम्पनीहरुसँग कुराकानी भइरहेको उनले बताए ।
संघले महोत्सव स्थलमा प्रवेश टिकट एक सय रुपैयाँ तोकेको छ । विद्यार्थी र जेष्ठ नागरिकका लागि भने ५० रुपैयाँ निर्धारण गरिएको महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । मेला सम्पन्न गर्न २३ वटा उपसमिति निर्माण गरिएको र ती उपसमितिले काम गरिरहेको उनले बताए ।

घरेलु उत्पादन र कृषि प्रदर्शनीकालागि घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखामा सम्पर्क गरिएको संघले जनाएको छ । जिल्लाभरबाट उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकता दिएर महोत्सवमा सुधार ल्याउने निर्णय संघले गरेको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्