
न्याकबासीले सिटामोलका लागि अब पाँच घण्टा हिँड्नु परेन
चुमनुब्री गाउँपालिका ३ न्याकका बासिन्दाले अब सिटामोल र जीवनजल पाउनका लागि पाँचघण्टा हिँड्नु नपर्ने भएको छ । गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि त्यहाँका करिब ४० घरधुरीका बासिन्दाले गाउँमै स्वास्थ्य सेवा पाउने भएका हुन् ।
गाउँपालिकाले आइतबार त्यहाँ स्वास्थ्य इकाइ स्थापना गरेको छ । एकजना अहेब तहका कर्मचारी र औषधीसहित स्वास्थ्य इकाइ गठन गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘न्याकबाट स्वास्थ्य सेवा लिन गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आइपुग्नु पथ्र्यो । धेरै दुख भयो भनेर त्यहाँका बासिन्दाले सँधै माग गरिरहन्थे’, लामाले भने, ‘त्यसैले धेरै मिहिनेत गरेर आज त्यहाँ सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न सफल भएका छौँ । यो धेरै त्यहाँका बासिन्दाका लागि मात्र नभै सिँगो गाउँपालिकालाई नै खुशीको कुरा भएको छ ।’
त्यहाँ सरकारी तथा नीजि स्वास्थ्य संस्था पनि थिएन । सामान्य स्वास्थ्य समस्या भए पनि सेवा लिनका लागि पाँच घण्टा हिडेर फिलिम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय सूर्य गुरुङ बताउँछन् । ‘सानोतिनो घाउचोट लागे पनि फिलिमै पुग्नु पर्ने, पाखला लाग्दा जीवनजल लिन पनि फिलिमै धाउनु पर्ने, जोरो आयो र सिटामोल खानुपर्यो भने पनि फिलिमै आउनु पर्ने’, गुरुङले भने, ‘हामीले धेरै पहिलेदेखि नै हेल्थपोस्ट मागिरहेका थियौँ । आज बल्लतल्ल स्थापना भएको छ । हामी सबै धेरै खुशी छौँ ।’
सदरमुकामबाट पनि टाढा र गाउँपालिका तथा वडा कार्यालयबाट पनि धेरै टाढा रहेको न्याकमा गतबर्ष मात्र विजुली र मोबाइल सेवा सञ्चालन भएको हो । विस्तारै विस्तारै विकासका आधारभूत सेवाहरु गाउँमा पुगिरहेको छ ।
गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार बिगत एकबर्षदेखि बन्द रहेको चुमनुब्री ७ छेकम्पारको लारस्थित स्वास्थ्य इकाइ पनि आइतबारदेखि सञ्चालनमा आएको छ । चाया नेपाल नामक गैर सरकारी संस्थाले छाडेर गएपछि एकबर्षअघिदेखि बन्द रहेको लारस्थित स्वास्थ्य इकाइमा एक अनमि पठाएर सुचारु गरिएको उनले बताए ।




