| सोमवार, कार्तिक २३, २०८३

ठूलोआँगन कसैको आँगन हो कि साझा सम्पत्ति ?


कुनै पनि ज्ञान आर्जन गर्न जो कसैले धेरै मिहिनेत गरेको हुन्छ । कहिलेकहीँ, त्यसरी मिहिनेत गरेर आर्जन गरेको ज्ञान मिथ्या पनि भइदिन सक्छ । यस्तो अबस्थामा त्यो ज्ञान आर्जन गर्न जति कठिन हुन्छ, त्यो ज्ञान मिथ्या रहेछ भनेर स्वीकार गर्न त्योभन्दा बढि कठिन हुन्छ ।


किनभने हामी प्राय एक्काको घोँडा जस्ता अगाडि मात्र देख्ने, दायाँवायाँ देख्न नसक्ने स्वभावका छौँ ।


यसरी अगाडिमात्र हेरेर कुद्दा गन्तव्यमा त पुगिन्छ, तर त्यो गन्तव्य कस्तो हुन्छ भन्ने चाहिँ विचारणीय हुन्छ ।


समय, परिवेश, युग, ज्ञाता, विज्ञ, विशेषज्ञहरुको राय सुझाव लिएर गन्तव्य तय गर्नुपर्छ । सुझवुझका साथ तयार गरिएको गन्तव्य पुग्ने क्रममा पनि विभिन्न बाधा अड्चनहरु आउन सक्छन् । ती बाधा अड्चन बाधाका लागि मात्र आएका छन् कि, मार्मिक छन् ? भनेर पुनर्विचार गर्नुपर्छ । कहीँ आफूले तय गरेको गन्तव्य भन्दा ती बाधा अड्चन महत्वपूर्ण छन् कि ? आफूले बनाएको धारणा भन्दा ती फरक धारणा पो महत्वपूर्ण छन् कि ? यस्तो अवस्थामा आफ्नो धारणालाई मात्र प्राथमिकता दिने कि, ती फरक धारणालाई ?


विषय ठूलो आँगनको हो । पद, सत्ता, शक्तिमा रहेका बेला ठूलोआँगन क–कसले अतिक्रमण गरेका थिए भन्नेबारे पछि छिप्न सक्छ, अहिलेसम्म लुकाएर लुक्दैन, किनभने त्यो ठूलोआँगन देख्नेहरु अहिले जीवित साक्षी छन् । कसैले स्वीकार गरे पनि नगरे पनि ठूलोआँगन ऐतिहासिक र पुरातात्विक साझा स्थल हो । पुरातत्व विभागले आफ्नो सीमाभित्र पर्दैन भनेर कसैको करबलका कारण नक्शाबाट काटे पनि ठूलोआँगन पुरातात्विक सम्पदा नै हो । किनभने कस्तो सम्पदा पुरातात्विक हो भनेर विभागले किटान गरिरहनु पर्दैन । यसको आफ्नै मूल्य, मान्यता, सीमा हुन्छ ।


त्यसैले ठूलोआँगनलाई कसरी प्रयोग गर्नुपर्छ भनेर निर्णय लिँदा वरिपरि घर भएकाहरुले आफ्नो आँगनमा अधिकार प्रयोग गरे जसरी प्रयोग गर्नु हुदैन । पुरातात्विक मूल्य, मान्यतामा आँच नआउने गरी यसको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्