| आइतवार, कार्तिक २२, २०८३

गोरखा बजारमा हातहातै चिया पुर्याउँछन् पदमबहादुर

तपाईलाई चिया पिउन मन लागेको छ भने एकैछिन धैर्य गर्नुस्, हातमा चियाको किट्ली र गिलास बोकेका चिया व्यापारी एकैछिनमा टुप्लुक्कै आइपुग्नेछन् । हिजोआज उनी गोरखा बजारमा हातहातै चिया पु¥याउन आइपुग्छन् ।

बसपार्कको बस प्रतिक्षालयमा, तपाईको पसलमै, साथीभाई भेला भएर बसेको ठाउँमै र मुख्य सडकको दायाँबायाँ चिया बेच्दै हिड्ने ब्यक्ति हुन् कैलालीका ५२ वर्षीय पदमबहादुर बुढाथोकी ।

उनी कागती, बिरेनुन लगायत आयुर्वेदिक मसला राखेको कालो चिया प्रतिकप २० रुपैयाँमा तपाईँलाई उपलब्ध गराउँछन् । हरेकदिन बिहान ४ बजे उठेर चिया बनाउँदै पदमबहादुरको दिनचर्या सुरु हुन्छ । बिहान करिब पाँच बजे उनी शुद्ध आयुर्वेदिक चिया लेखिएको थर्मस र एउटा बाल्टिनमा कप लिएर गोरखा सदरमुकामको बसपार्कदेखि हरमटारीसम्म आउजाउगर्छन ।

‘चिया है चिया, शुद्ध आयुर्वेदिक चिया’ उनी चियाका पाखरीहरुको ध्यान खिच्दै हिड्छन् । गोरखा आउनुअघि चितवनको टाँडीमा चिया बेच्दै आएका उनी गत भदौ १४ गतेबाट गोरखा आएका हुन् । उनी हरेक दिन बिहान पाँच बजेदेखि नौ बजेसम्म बसपार्क–हरमटारीसम्म आउजाउ गर्छन् । त्यस्तै, दिउसो २ बजे एक–दुई घण्टा बजार डुल्दै चिया बेच्छन् ।

जुम्लाबाट ल्याएका विरेनुन, मरिच लगायतका चिया मसलाहरु मिसाएकाले आयुर्वेद चिया नाम दिएको बुढाथोकी बताउँछन् । उनको चिया मन पराउने पारखी गोरखा बजारमा बढ्दै छन् । ग्राहकहरु सबैले मन पराएको उनले बताए ।

एक दिनमा ६० देखि एकसय कपसम्म चिया बेच्ने गरेको उनले बताए । दैनिक एकसय कप चिया विक्री भयो भने दुईहजार रुपैयाँ कमाई हुने र सात सय खर्च कटाउँदा १२ सय रुपैयाँ फाइदा हुने उनले बताए । उनले मासिक २५ हजारभन्दा बढि कमाई गर्छन् । शनिबार भने पसलहरु बन्द रहने र मानिसहरु भिडभाड कम हुँदा कहिले २०–३० कपमात्र र अन्य दिनमा भने धेरै नै विक्री हुने गरेको उनको अनुभव छ ।

आफ्नो आर्थिक अवस्था कमजोर रहेको र छोराहरु पढाउनका साथै घरधन्दा धान्न चिया बेच्ने गरेको उनी बताउँछन् । ‘आर्थिक अवस्था कमजोर व्यक्ति परियो, सानोतिनो व्यापार त गर्नुप¥यो, केही गरेर त बाँच्नु प¥यो, छोराछोरीलाई पढाउनुप¥यो’ उनले भने ।

पदमबहादुरको एक छोरी, दुई छोरा र श्रीमतीसहित पाँच जना परिवार छन् । छोरीको बिहे भइसक्यो भने एउटा छोरा काठमाडौमा कक्षा ११ मा र सानो छोरा गाउँमै बोर्डिङ स्कलुमा कक्षा ९ पढ्छन् । छोराहरुको पढाई र उनको घरखर्च चिया बेचेर चल्ने गरेको छ ।

अछामबाट कैलाली झरेको उनी गाउँमा खेती किसानी गर्दै आएका थिए । तर त्यसले परिवारलाई धान्न मुस्किल परेपछि साथीभाइहरुले गरिरहेको काममा लागेको बताउँछन् । ‘यो पेशामा लागेको एक वर्षमात्र भयो, आफुसँग पुँजी पनि छैन, सानोतिनो व्यापार गर्नका लागि चिया बेचेर परिवार पालेको छु,’ उनले भने ।

जाडो याममा गोरखा आएको बताउँदै केही दिनपछि फेरि दमौली जाने उनले बताए । एकदुई महिना दमौली गएर फेरि गोरखामा नै फर्किएर आउने उनले बताए । हिड्दै चिया बेच्दा राम्रो कमाइ भएको आफु यो सन्तुष्ट रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्