
गोरखा अस्पतालमा सेवा दिँदै डाक्टर गुणराज लोहनी
डाक्टर गुणराज लोहनीले गोरखा अस्पतालमा बिरामी जाँच गर्न सुरु गरेका छन् । आईतवारदेखि उनले अस्पतालमा आएका बिरामीको जाँच थालेका हुन् ।
सेवा निवृत्त भएपछि गोरखा अस्पतालमा आएर तीन महिना स्वयमसेबक डाक्टरको रुपमा काम गर्ने घोषणा गरेका उनले आईतवारदेखि ओपिडी सेवा सुरु गरेको बताए । पहिलो दिन उनले ३५ जना बिरामी जाँच गरे । ‘अब मलाई तीन महिना ओपीडी समयमा हरेक दिन गोरखा अस्पतालमा बिरामीले भेट्न पाउँछन’, उनले भने ।
तनहुँ घर भएका डाक्टर लोहनी भर्खरै सेवा निवृत्त भएका हुन् । १२ औँ तहबाट अवकाश पाएका उनी स्वास्थ्य मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव भए । ‘म पहिले सात वर्ष गोरखा बसेको थिएँ, सबैभन्दा धेरै बसेको ठाउँमा अहिलेपनि आउँआउँ लागेर आएको हुँ’, उनले भने, ‘गोरखा अस्पतालसहित करिब १५÷२० जिल्लामा सेवा दिन पुगेको थिएँ ।’
पहिले र अहिले गोरखा अस्पतालमा विषेशज्ञ सुविधा थप भएको उनले बताए । ‘पहिले चार पाँच जना मेडिकल अधिकृत हुन्थे, अहिले विशेषज्ञ डाक्टर नै ९÷१० जना छन्’, उनले भने, ‘पूर्वाधार पनि बढ्यो, सडक सुविधाले मानिसहरु आउजाउमा पनि सजिलो भयो ।’ बिरामीको चाप पहिले भन्दा अहिले धेरै रहेको उनले बताए ।
उनी गोरखा अस्पतालमा कार्यरत रहँदा यहाँ बिरामीको चाप बढेको थियो ।




