| सोमवार, कार्तिक २३, २०८३

किन मतदान गर्न जाँदैनन् मतदाता ?

मतदानका दिन गोरखाका विभिन्न मतदानकेन्द्रको अवलोकन गरेपछि यहाँका उम्मेद्वारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदाताको उपस्थितिबारे निराशा प्रकट गरे । १५ बर्षअघि आफूले कायम गरेको ८३ प्रतिशत भोट पाएको रेकर्ड यसपटक ब्रेक गर्न डाक्टर बाबुराम भट्टराईले चुनौति दिँदै आएका थिए ।

दह्रो हात बनाएर पठाउन आग्रह गर्दै प्रचारमा हिँडेका प्रचण्ड प्राप्त मत संख्या र मतान्तरको कमजोर अबस्था देखेर विजय उत्सव मनाउने कार्यक्रममा पनि उतिसारो खुलेर बोलेनन् । गठबन्धन दलको बैठक छ भन्ने ‘बहाना’ गरेर हतार गरेर निस्के ।
पाँचबर्षअघिको निर्वाचनमा गोरखामा एकलाख ८९ हजार ४४८ मतदाता थिए । त्यतिबेला एकलाख २३ हजार ७१९ अथवा ६४ दशमलव ४९ प्रतिशत मत खसेको थियो ।

अहिलेको निर्वाचनमा मतदाता बढेर दुईलाख २० हजार ६३७ पुगे, तर मत भने जम्मा एकलाख १४ हजार ३२६ अर्थात जम्मा ५१.८१ प्रतिशत मात्र खस्यो । पाँच बर्षको अन्तरालमा गोरखामा मतदान गर्नेको संख्या १२.६८ प्रतिशतले घटेको छ ।
प्रचण्ड नै उम्मेदवार बनेपछि पात्रका कारण पनि यसपटक मत खस्ने दर बढ्न सक्ने र मतान्तर भारी बढ्ने अनुमान थियो । तर बस्तुगत यथार्थ फरक रह्यो ।

अरु धेरै कारण भए पनि मत खस्ने दर घट्नुमा मुख्य तीन कारण रहेको यहाँका बासिन्दाको विश्लेषण छ । ‘सबैभन्दा मुख्य कारण त बिगतमा राजनीतिक पार्टीका नेताले गरेका गल्ती कमजोरी नै हो’, फणिन्द्रप्रसाद भट्ट भन्छन्, ‘जसलाई जिताए पनि के नै नाप्छन् र भन्ने मतदातामा परेको छ ।

त्यसैले भोट हाल्न जान गाह्रो मान्छन् ।’ यसअघि जिताएर पठाएका नेताले प्रतिवद्धता अनुसार काम नगरेकाले जनमानसमा निर्वाचनप्रति वितृष्णा बढेको उनको तर्क छ ।
गठबन्धनका कारण पनि मतदातामा उत्साह नछाएको सरुना पोखरेल बताउँछिन् । ‘एक भोट भएपनि थपियो भने आफ्नो उम्मेदवारले जित्छ भन्ने यसपालि भएन । गठबन्धन भएपछि यसै जित्छ, उसै जित्छ भन्ने पनि भयो, त्यसैले मान्छेहरु घरमै भएर पनि भोट हाल्न गएनन्’, उनले भनिन् । गठबन्धनका कारण आफ्नो चुनाव चिन्हमा मत हाल्न नपाइने भएकाले पनि मतदाताले चासो नदेखाएको गोरखामा चर्चा हुने गरेको छ ।

‘गठबन्धनले गर्दा क्षेत्र नं. १ का माओवादी समर्थक मतदाताले हँसिया हथौडामा भोट हाल्न नपाउने भए । क्षेत्र नं. २ का कांग्रेस समर्थकले रुखमा भोट हाल्न नपाउने भएपछि भोटै हाल्न गएनन्’, गगन अधिकारी भन्छन्, ‘राजनीति प्रतिको वितृष्णा, जितेर गएका नेताहरुबाट असन्तुष्टिले पनि होला, जिल्ला बाहिर बसेकाहरु भोट हाल्न आएनन् । सदरमुकाम बसेकाहरु पनि आफ्नो ठाउँमा गएनन् ।’

बिगतका निर्वाचनमा भन्दा अहिले मत कम खसेको र मतदाता निस्क्रिय देखिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईराला बताउँछन् । ‘२०७४ को स्थानीय तहको निर्वाचनमाभन्दा अहिले मत कम खसेको छ’, उनले भने ‘निर्वाचन आयोग र कार्यालयले मतदाता शिक्षा ब्यापक बनाएकै हो तर किन कम खस्यो भन्ने अध्ययनको विषय बनेको छ ।’ पालिका, वडा स्तरमा मतदाता शिक्षा संचालन गरिएको, सामाजिक सञ्जाल, संचार माध्याम, मोवाईलको ‘रिङब्याकटोनु मार्फत पनि मतदाता शिक्षा दिइएको बताउँदै उनले प्रचार, प्रसारमा कुनै कमि नगरेको बताउँछन् ।

‘शिक्षित जनसंख्या भन्दा भोट कम खसेको छु, जिल्ला निर्वाचन अधिकारी कोईरालाले भने, ‘नजानेर वा शिक्षा नपाएरभन्दा पनि मतदाता मत खसाउनै गएनन् भन्ने सुनिन्छ ।’ शान्तिपूर्ण, भयरहित वातावरण भएर पनि सहज वातावरणमा भोट खसाल्ने परिस्थिति हुँदाहुँदै पनि मतदातमा उत्साह नदेखिएको विषयलाई आयोग र कार्यालयले गम्भिर रुपमा लिनुपर्ने उनी बताउँछन् ।

निर्वाचन पर्यवेक्षकको रुपमा लामो समयदेखि गोरखामा निर्वाचन अवलोकन गर्दै आएका अधिवक्ता रमेश अधिकारी मतदात कम सहभागी हुनुमा राजनीतिक दलप्रति जनताको बितृष्णा पैदा हुनु मुख्य कारण रहेको बताउँछन् । ‘एकतर्फ जनतामा वितृष्ण पैदा हुनु र अर्को मुख्य कारण चुनावमा गठबन्धन गरेर निर्वाचन लड्ने परिपाटीको बिकास भयो । यसले मतदाता उत्साहित देखिएनन् ।’ मत खस्ने दर बढाउन अब जनमतको सर्भेक्षण गरेर चुनाव गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्