
घटेन बदर मतको दर : गोरखामा प्रत्यक्ष भन्दा समानुपातीमा धेरै बदर
मत बदर दर गोरखामा बिगत भन्दा बढेको छ । पटक–पटक निर्वाचन भईरहँदा पनि मतदाता भने अझै शिक्षित भएका छैनन् । बिगतका निर्वाचनमा जस्तै यस पटकको चुनावमा पनि गोरखामा बदर मतको दर बढ्दो देखिन्छ ।
मंसीर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेकोमा ६० हजार दुई सय ८२ मत खसेको थियो । जसमध्ये ५७ हजार दुईसय ३१ मत सदर भयो भने तीन हजार ५१ मत बदर भयो । २०७४ को निर्वाचनमा यस क्षेत्रमा ६३ हजार छ सय चार मत खसेको थियो । जसमा ५९ हजार दुई सय ८४ मत सदर र चार हजार तीन सय २० मत बदर भयो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा ५६ हजार तीनसय ६२ मत सदर भयो भने तीन हजार पाँचसय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा धेरै मत बदर भएको छ ।
गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ धेरै मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखा क्षेत्र नं २ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुल एकलाख पाँचहजार दुईसय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार ४४ मत खसेको थियो । तीमध्य ५० हजार नौसय १८ मत सदर भयो भने तीन हजार एकसय २६ मत बदर भयो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ५१ हजार दुईसय १४ मत सदर भयो भने दुई हजार नौ सय ५९ मत बदर भयो । प्रतिनिधिसभातर्फ समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएका छन् ।
२०७४ सालको निर्वाचनमा पनि गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ६० हजार एक सय १५ मत खसेको थियो । त्यो बेला ५७ हजार ४ सय ७९ मत सदर भए भने २ हजार ६ सय ३६ मत बदर भएको थियो ।
त्यस्तै, प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ बदर मतको संख्या धेरै देखिन्छ । गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ कुल ६० हजार मतदाता रहेकोमा ३० हजार चारसय ९४ मत खसेको थियो । तीमध्य २९ हजार चारसय ४४ मत सदर भए भने एक हजार ५० मत बदर भयो ।
गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कुल ५४ हजार छसय ५३ मतदाता रहेका छन् । यहाँ २९ हजार छसय ४९ मत खसेको थियो । जसमा कुल २८ हजार चारसय ८७ मत सदर र एक हजार एकसय ६२ मत बदर भयो ।
गोरखमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या अझै घटेको छैन । प्रत्येक पटकको निर्वाचनमा बदर मतको संख्या पटक पटक दोहोरिने गरेका छन् । मतदाता शिक्षा निर्वाचन आयोग र कार्यालयले वडा तहसम्म संचालन गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला बताउँछन् ।
मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने उनले बताए ।
त्यस्तै, गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा समानुपातिकतर्फको बदर मत संख्या पनि धेरै नै देखिन्छ । यहाँ कुल एकलाख १५ हजार तीनसय ९७ मतदाता रहेकोमा जम्मा ६० हजार नौसय १६ मत खसेको थियो ।
जसमा ५६ हजार पाँच सय ९३ मत सदर भए भने चार हजार तीन सय २३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभामा पनि प्रत्यक्ष तर्फभन्दा समानुपातिक तर्फको मत धेरै बदर भएको निर्वाचन अधिकृतको कार्यालयमा रहेको तथ्याङ्कमा उल्लेख छ ।
गोरखा क्षेत्र न २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ कुल ५० हजार तीनसय ७६ मतदाता रहेकोमा २६ हजार चारसय ९८ मत खसेको थियो । त्यसमध्ये २५ हजार दुईसय ८५ मत सदर भए भने एक हजार दुई सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, गोरखा क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ कुल ५४ हजार आठ सय ६४ मतदाता रहेकोमा २४ हजार एकसय ४३ मत खसेको थियो । त्यसमध्य २३ हजार एक सय मत सदर भयो भने एक हजार ४३ मत बदर भयो ।
गोरखा क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ‘क’ र ‘ख’ मा समानुपातिकतर्फ कुल एकलाख पाँच हजार दुई ४० मतदाता रहेकामा जम्मा ५३ हजार नौ सय ४१ मत खसेको छ । जसमा ४९ हजार मत सदर भयो भने चारहजार एकसय १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा मतको संख्या बढेको देखिन्छ । २०७४ सालमा र हालै सम्पन्न भएको २०७९ को निर्वाचनमा बदर मतको संख्यामा अन्तर छैन । अहिले मत नै कम खसेका बेलापनि बदर दर भने पहिले भन्दा धेरै छ ।
एक भन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको संख्या गोरखामा धेरै छ । मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ ।




