
गोरखामा मतदाता बढे, मत बढेन
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखामा ५१ दशमलव ८१ प्रतिशत मात्र मात्रै खस्यो । गोरखामा २०७४ मा भन्दा अहिले ३१ हजार एकसय ८९ मतदाता थपिए तर मत भने बिगतमा भन्दा १३ दशमलव ४९ प्रतिशतले कम खसेको छ ।
दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको यहाँ २०७४ को निर्वाचनमा एकलाख ८९ हजार चारसय ४८ मतदाता थिए । त्यतिबेला एकलाख २३ हजार सातसय १९ मत खसेको थियो । यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो ।
अहिले मतदाताको संख्या दुईलाख २० हजार छ सय ३७ पुगेको बेला मत एकलाख १४ हजार तीनसय २६ मत मात्रै खसेको छ । गत निर्वाचनमा भन्दा अहिले नौहजार तीनसय ९३ मत कम खसेको हो । निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार यसपटकको निर्वाचनमा मतदाता थपिने तर मत घट्ने भएको छ ।
यो संख्याले मतदाता अहिलेको निर्वाचनमा निराश देखिए । दुई वटै प्रतिनिधिसभा क्षेत्र र चारवटै प्रदेशसभा क्षेत्रमा २०७४ को निर्वाचनमाभन्दा कम मत खसेको छ ।
९८ हजार छसय २२ मतदाता हुँदा ६३ हजार छसय चार मत खसेको गोरखा १ मा अहिले एकलाख १५ हजार तीनसय ९७ मतदाता हुँदा ६० हजार दुईसय २८ मतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद सापकोटा शर्माले बताए । गोरखा १ मा करिब ५२ प्रतिशत मत मात्रै खस्यो । ४८ प्रतिशत मतदाता चुनावमा सहभागी नै भएनन् ।
गोरखा २ मा ९० हजार आठ सय २६ मतदाता रहँदा २०७४ मा ६० हजार एकसय १५ मत खसेको थियो । अहिले एकलाख पाँचहजार दुईसय ४० मतदाता भएको यहाँ ५४ हजार ४४ मत मात्रै खसेको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले करिब ५१ प्रतिशत मतमात्रै खस्यो ।
४९ प्रतिशत मतदाताले मतदान मा सहभागिता जनाएनन् । दुबै निर्वाचन क्षेत्रमा अनुपस्थित मतदाता संख्या उस्तै छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि बिगतमा भन्दा अहिले मतदाता कम देखिए । गोरखा १ प्रदेश क्षेत्र ‘क’ मा ५२ हजार दुई सय ६४ मतदाता भएका बेला ३२ हजार चार सय ८४ मत खसेको थियो । अहिले मतदाता ६० हजार सातसय ४४ पुग्दा ३० हजार चारसय ९४ मत मात्रै खस्यो ।
गोरखा १ प्रदेशसभा ‘ख’ मा ४६ हजार तीन सय ५८ बाट बढेर अहिले मतदाता ५४ हजार छ सय ५३ पुग्यो । पहिले ३१ हजार ५१ मत खसेको यस क्षेत्रमा अहिले २९ हजार छसय ४९ मत मात्रै खस्यो । गोरखा २ प्रदेश ‘क’ मा ४३ हजार पाँचसय ७५ मतदातामा थपिएर अहिले ५० हजार तीन सय ७६ पुगे ।
तर मत भने पहिले भन्दा अहिले २६ सय २८ मत कम खस्यो । अहिले २६ हजार चार सय ९८ मत खसेको यहाँ पहिले २९ हजार एक सय २६ मत खसेको थियो ।
गोरखा २ प्रदेशसभा ‘ख’ मा सातहजार छसय १३ जना मतदाता थपिए । तर मत भने पहिलेभन्दा छहजार आठसय १७ कम खस्यो ।
२०७४ मा ४७ हजार दुईसय ५१ मतदाता रहेको यस क्षेत्रमा अहिले ५४ हजार आठसय ६४ जना मतदाता छन् । पहिले ३० हजार नौसय ६० मत खसेको थियो भने अहिले २४ हजार एकसय ४३ मत मात्रै खस्यो । बिगतका निर्वाचनमा भन्दा अहिले मत कम खसेको र मतदाता निस्क्रिय देखिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईराला बताउँछन् । ‘२०७४ को स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मत कम खसेको छ’, उनले भने ‘निर्वाचन आयोग र कार्यालयले मतदाता शिक्षा ब्यापक बनाएकै हो तर किन कम खस्यो भन्ने अध्ययनको विषय बनेको छ ।’
पालिका, वडा स्तरमा मतदाता शिक्षा संचालन गरिएको, सामाजिक सञ्जाल, संचार माध्याम, मोवाईलको ‘रिङब्याकटोन’ मार्फत पनि मतदाता शिक्षा दिइएको बताउँदै उनले प्रचार, प्रसारमा कुनै कमि नगरेको बताउँछन् । ‘शिक्षित जनसंख्या भन्दा भोट कम खसेको छ’, जिल्ला निर्वाचन अधिकारी कोईरालाले भने, ‘नजानेर वा शिक्षा नपाएरभन्दा पनि मतदाता मत खसाउनै गएनन् भन्ने सुनिन्छ ।’
निर्वाचन शान्तिपूर्ण भएको, सहज बतावरणमा भोट खसाल्ने परिस्थिति हुँदाहुँदै पनि मतदातमा उत्साह नदेखिएको विषयलाई आयोग र कार्यालयले गम्भिर रुपमा लिनुपर्ने उनी बताउँछन् । पर्यवेक्षकको रुपमा लामो समयदेखि गोरखामा निर्वाचन अवलोकन गर्दै आएका अधिबक्ता रमेश अधिकारी मतदात कम सहभागी हुनुमा राजनीतिक दलप्रति जनताको बितृष्णा पैदा हुनु मुख्य कारण रहेको बताउँछन् ।
‘एकतर्फ बितृष्ण पैदा हुनु र अर्को मुख्य कारण चुनावमा गठबन्धन गरेर निर्वाचन लड्ने परिपाटीको बिकास भयो । यसले मतदाता उत्साहित देखिएनन ।’ गठबन्धन भएपछि जुन चुनाव चिन्हमा जुन पार्टीलाई भोट हाल्नुपर्ने हो त्यो अनुसार भोट हाल्न नपाउँदा मतदातालाई अपनत्व र उत्साह नभएको हुन सक्ने उनले बताए ।




