
गोरखामा चारजना ‘घुमन्ते व्यापारी’लाई कारबाही
गोरखा बजारभित्रभित्रै कपडा बेच्दै हिँड्ने ‘घुमन्ते व्यापारी’ कारबाहीमा परेका छन् । बिना फर्म दर्ता, बिना राजस्व आर्थिक कारोबार गर्दै कपडा बिक्री गर्नेहरुलाई वडा कार्यालयले कारबाही गरेको हो । अवैध ढंगले व्यापारिक क्रियाकलाप गरेकालाई कारबाही गरिएको वडा कार्यालयले जनाएको छ ।
बजार क्षेत्रमा कपडा बेच्दै हिडेको तीन जना घुमन्ते कपडा व्यापारी र एक जना सिरक डस्ना बनाउने टयाक्टरलाई नियन्त्रणमा लिई कारवाही गरिएको गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीले बताए । उनीहरुलाई गोरखा नगरपालिकाले निर्णय गरे अनुसार तीन जनालाई ३०÷३० रुपैयाँ जरिवाना गरिएको छ भने एक जना कपडाको सिरक डस्ना बेच्ने टयाक्टर नियन्त्रणमा लिई रु दुई हजार जरिवाना गरेको बताए । पुरानो नियम अनुसार जरिवाना रकम थोरै भएको बताउँदै आगामी दिनमा विना दर्ता कर छली गर्दै बेच्न नपाइने शर्तसहित अबदेखि यस्तो गतिविधि नगर्ने कागजपत्र बनाएर छोडिएको उनले बताए ।
कर छली गरेर कपडा बेच्ने व्यापारीलाई रु पाँचसयदेखि ५० हजारसम्म जरिवाना गर्ने नियम रहेको र आगामी दिनमा सोही नियम अनुसार कारबाही हुने उनले बताए । घुमन्ते व्यापारीहरुले पसलमा एकहजार तथा १२ सय पर्ने कपडाहरु पनि पाँच÷छ हजार भन्दै मनलाग्दी मूल्यमा बेच्ने गरेको भेटिएको बताउदै उपभोक्ता र सरकारलाई ठग्ने यस प्रकारका व्यवसायीलाई निरुसाहित गर्नुपर्ने वडा अध्यक्ष जोशीले जानकारी दिए ।

बजारक्षेत्र स्थानीय व्यवसायीहरु सरकारलाई कर तिरेर व्यवसाय संचालन गरिरहेको सबैले सरकारको नियम पालना गर्नुपर्ने उनले बताए । साथै आगामी दिनमा बजार क्षेत्रमा अवैध रुपमा कपडा लगायतका व्यवसायहरु संचालन गरिरहेको पाएमा कारवाहीसँगसँगै सामग्री पनि जफत हुने उनले बताए ।
यसरी सरकारलाई कर नतिरी विना दर्ता घुमन्ते व्यापारीहरुले कपडा बेच्दै हिँड्दा व्यवसायिक रुपमा सरकारमा दर्ता गरेका व्यापारीहरु मर्कामा पर्ने फेन्सी तथा कपडा व्यवसायी संघ गोरखाका अध्यक्ष सुवास मल्लले बताए । गोरखा बजारदेखि गाउँगाउँमा एकसय जना भन्दा बढी यसरी अवैध रुपमा कपडा बेच्दै हिडेको उनले बताए ।
अवैध रुपमा कसैले पनि व्यापार व्यवसाय गर्न नपाउने बताउँदै वैध रुपमा सरकारलाई कर तिरेर मात्र व्यवसाय संचालन गर्नुपर्ने उनको भनाइ छ ।
व्यवसायीहरुको छाता संस्था गोरखा चेम्बर अफ कमर्स, गोरखा उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले यसका बारेमा आवाज उठाउनुपर्ने समेत उनले बताए ।
अवैध रुपमा भइरहेको व्यवसायलाई निगरानी गर्न आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहहरुमा पनि पटक पटक अनुरोध गर्दै आएको संघका अध्यक्ष मल्लले जानकारी दिए । बजार क्षेत्रमा मात्र नभई गाउँ गाउँमा पनि घुमन्ते ब्यापारीको बिगबिगी छ ।




