| सोमवार, कार्तिक २३, २०८३

धार्चे र बारपाक सुलीकोटमा राष्ट्रिय परिचय पत्रको फाराम भर्न सुरु

गोरखाको धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । मंगलबार धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा राष्ट्रिय परिचयपत्रको फाराम भर्ने अभियान संचालन सम्बन्धी स्थानीयस्तरमा अभिमुखीकरण भएसँगै अभियान सुरु भएको गाउँपालिकाले जनाएको छ ।

सातवटा वडा रहेको धार्चेमा सबै वडामा एकै पटक अभियायन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशाससकीय अधिकृत काजीमान सुनारले बताए । कार्तिक १६ गतेबाट सुरु भएको अभियान करिब दुई हप्तासम्म संचालन हुने उनले जानकारी दिए ।
सो अभियानमा एउटा टोलीमा दुई जना कर्मचारीसहित वडा सचिव लगायतका कर्मचारी खटिनेछन् । २०६८ सालको जनगणना अनुसार धार्चे गाउँपालिकामा कुल जनसंख्या करिब १९ हजार रहेका छन भने तीमध्य १४ हजार राष्ट्रिय परिचयपत्र बनाउन योग्य भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।

दुर्गम क्षेत्रका स्थानीयहरु सबैलाई मौखिक रुपमा र सामाजिक सञ्जालबाट पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा बनाउन आग्रह गरिएको उनले जानकारी दिए । छरिएर रहेका दुर्गमका बस्तीहरुमा धेरै जनसंख्या भएको बस्तीमा सोहि गाउँमै क्याम्प स्थापना गरेर राष्ट्रिय परिचयपत्र बनाइने उनले बताए । त्यस्तै, कम जनसंख्या भएको बस्तीमा मानिसहरु भने सम्बन्धित वडा कार्यालयमै आएर राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय गोरखाको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय परिचयपत्र वितरण अभियान संचालन सम्बन्धित स्थानीयस्तरमा अन्तरक्रिया कार्यक्रममा पालिकाका कर्मचारी, सम्पूर्ण वडाका वडा सचिव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई गाउँपालिकाका लेखापाल तुलसीराम खनालले सहजीकरण गरेका थिए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा पनि बिहिबारबाट राष्ट्रिय परिचयको फाराम भर्ने अभियान सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी दिए । बिहिबार वडा नम्बर तीन र चारमा अभियान सुरु हुनेछ । शुक्रबारबाट क्रमैसँग सबै वडामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु हुने उनले जानकारी दिए ।

नेपाली नागरीकता प्रमाणपत्रको कमी कमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा ल्याईएको हो । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले सबैलाई अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र बनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्