
डाक्टर कुट्नेलाई कडा कारवाहीको माग गर्दै चिकित्सकद्वारा हातमा कालोपट्टी बाँधेर उपचार
अस्पतालमा उपचाररत डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारवाहीको माग गर्दै गोरखा अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मंगलवार बिहान उपचार सेवा सुरु गर्नुअघि चिकित्सकहरुले सामुयिक भेला भएर कालोपट्टी बाँधेर मात्रै सेवा आरम्भ गरेका थिए ।
कात्तिक ६ गते गोरखा अस्पतालका ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई फितलो मुद्धामा कारवाही हुन लागेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । ‘कडा कारवाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरिएको हो’, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘कारवाही नहुँदासम्म यो प्रक्रिया जारी रहन्छ ।’
अदालतमा दर्ता गर्ने मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रहरीले फितलो कारबाही गर्न खोजेको आरोप नेपाल चिकित्सक संघको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नंबर ‘ग’मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोटपटक पु¥याउन नपाउने व्यवस्था छ ।
यदि त्यसो गरेमा तीनबर्षसम्म कैद वा तीनलाखसम्म जरिबाना वा दुवै सजायँ हुने व्यवबस्था छ तर प्रहरीले नंबर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्कीले बताए । फितलो मुद्दाले दोषीको मनोबल बढाउने र निर्दोष चिकित्सकको मनोबल गिराउने काम भएको चिकित्सक संघको तर्क छ ।
चिकित्सक कुटेको अभियोगमा गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुवँर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोनपा ३ का २६ वर्षका प्रमोदजंग कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।




