
प्रचण्डसित चुनावी प्रतिस्पर्धा गरेका टिकादत्त पोखरेल सय बर्षको जन्मोत्सव मनाउँदै
प्रचण्डसंग गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा भिडेका टिकादत्त पोखरेलले सोमबार आफ्नो सयबर्षको जन्मोत्सव मनाएका छन् । सिरानचोक ४ माझगाउँवेशीस्थित निजी निवासमा परिवार र छरछिमेकका माझ हर्षोल्लासका साथ उनले जन्म सतक मनाएका हुन् ।
बि.सं. १९८० कात्तिक १४ गते जन्मेका उनले सोमबार आफन्तजन र छरछिमेकलाई घरमा आमन्त्रण गरी टिकाटाला गरेर र केक काटेर जन्मदिवस मनाएका हुन् ।
सो अवसरमा उनले २०५१ सालमा दिवंगत भएकी आफ्नी जीवन संगिनी मुमादेवी पोखरेलको स्मरण गरेका थिए । उनका तीन छोरा र चार जना छोरीहरु छन् ।
नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्तिसेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ गरेको प्रसंगको पनि स्मरण गरेका थिए ।
जन्मोत्सव समारोहमा संक्षिप्त बोल्दै उनले अहिलेका नेताहरुले देशलाई लुटेर आफूले कमाएका, सहिदको सपनालाई लत्याएका, सबै काम विदेशीको इशारामा गरेका आरोप लगाएका थिए ।
विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सफल भएको भनेर जतिसुकै उद्घोष गरे पनि सिँहदरबारका चारै ढोका सर्वसाधारणका लागि सँधै बन्द रहेको भन्दै त्यसलाई खुलाउन आफू उम्मेद्वार बनेको उनले दाबी गरेका थिए । साथै हिन्दू राष्ट्र स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो ।
विपी कोइरालाका सहयोद्धा रहेर लामो समय काम गरेका उनी नेपाली कांग्रेस(विपी)मा आवद्ध छन् । अहिले सोही पार्टीबाट परेवा चुनाव चिन्ह लिएर प्रतिनिधिसभाका उम्मेद्वार बनेका छन् ।





