| मङ्लबार, कार्तिक २४, २०८३

डोरी समात्दै, भ¥याङ चढ्दै भोटेनून बोक्ने बाटो हिँड्न बाध्य

तल हेर्दा छङ्गाछुर भीर, झण्डै चारपाँचसय मिटर उँधो बूढीगण्डकी देखिने । कतै भीरमा पाइला मात्र राख्न मिल्ने बाटो, कतै पाइला टेक्न पनि नमिल्ने हुँदा काठको ठाडो र तेर्सो भ¥याङ बनाइएको, कतै डोरीमा समातोर, कतै निगालो समातेर हिँड्नु पर्ने यो कहालीलाग्दा बाटो हो, गोरखाको मनास्लु क्षेत्रको ।

गतहप्ता निख्रिँदो मनसुनमा यस क्षेत्रमा भीषण बर्षा भयो । जताततै पहिरो झ¥यो । धेरै ठाउँमा झरेका ठूला(ठूला पहिरोले बाटो अवरुद्ध बनाएपछि मनास्लु क्षेत्रका बासिन्दा र विदेशी पर्यटक ३० बर्षदेखि हिँड्न छाडिएको भोटेनून बोक्ने बाटो हिँड्न बाध्य छन् ।

ठूलो पहिरोका कारण चुमनुब्री गाउँपालिका ३ न्याकफेदीदेखि पेवासम्मको बाटो हिँड्न नमिल्ने गरी क्षतिग्रस्त भएको वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘साविकको बिही, प्रोक, ल्हो र सामागाउँ गाविस जाने बटुवाहरु अहिले भोटेनून ओसार्ने गरेको बाटो हिड्न बाध्य भएका छन्’, वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘पहरोको कप्पुमा खुट्टा अड्याउँदै, डोरी र निगालो समात्दै हिड्नु परेको छ ।

बाटो यति कहालीलाग्दो छ कि, तल हेर्दा चिल घुम्ने भीर छ, रिङ्टा लाग्छ ।’ जोखिम मलेर हिँड्ने पर्यटकले ‘इन्जोय’ गरे पनि अरु पर्यटक र स्थानीयबासीको हिँडडुल सकसपूर्ण भएको उनको भनाइ छ ।

साविकको बाटो अवरद्ध भएपछि सो भीरबाट हिँड्दा दुई घण्टा समय थपिएको पर्यटकका गाइड भविराज गुरुङले बताए । ‘कमजोर मुटु भएकाले यो भीर पार गर्न सक्दैनन्’, उनले भने, ‘एड्भेञ्चर गर्न चाहनेहरु त रमाउँछन्, तर अरुहरु यस्तो देखेपछि रुन्छन् । आधाघण्टामा पार हुने बाटो भीरकोबाटो घुम्नु परेपछि दुईघण्टा बढि हिँड्नु परेको छ ।’ झरना र पहराबाट चुहिएको पानीले बाटो चिप्लो र जोखिम बनाएको उनको भनाइ छ ।

मान्छे जसोतसो हिँडेपनि खच्चड हिँडाउन नसक्दा सो क्षेत्रका करिब १२ सय घरधुरीका बासिन्दालाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ ।
पुर्खाले नूनको ढाकर बोकेर हिँड्ने सो बाटो ३० बर्ष यता बन्द भएको छ । बूढीगण्डकी किनारकिनारै बाटो र बूढीगण्डकीमा ठाउँठाउँमा झोलुंगेपुल बनेपछि माथिको बाटो बन्द भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन् ।

पहिरोले बाटो अवरुद्ध भएपछि गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट भीरको बाटो खोल्न लगाइएको उनले बताए । ‘पहिरोले चार(पाँच दिन बाटो अबरुद्ध भयो । आवतजावत ठप्प भयो’, वडाअध्यक्ष गुरुङले भने, ‘त्यसपछि अलिअलि पानी पर्न छाडेपछि ५०(६० जना खेतालाले चार दिन काम गरेर गत बुधबारबाट भीरको बाटो खुलाइयो । अहिले मान्छे हिँडडुल गर्न त जसोतसो मिलेको छ ।

खाद्यान्न ढुवानी गर्न सकिएको छैन ।’ सो बाटोमा यो सिजनमा दैनिक एकसय जना भन्दा धेरै विदेशी पर्यटक हिँड्ने गरेको उनको भनाइ छ । मनसुन रोकिएपछि पहिलेकै बाटो खुलाउन काम अघि बढाउने गुरुङले बताए । चुमनुब्री गोरखा जिल्लाको सडक सञ्जालले नजोडेको एक मात्र गाउँपालिका हो ।

यहाँको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित बाटो भएकाले यसबारेमा प्रचण्ड लगायतका नेताहरुसित समस्या राखेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । अल्पकालीन र दीर्घकालीन समाधानका लागि पहल गरिरहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्