| सोमवार, कार्तिक २३, २०८३

बढ्दै गरेको मनास्लु हिमालको ‘क्रेज’

गोरखालाई जसै ऐतिहासिक जिल्ला भनेर चिनिन्छ, इतिहास निर्माणमा योगदान, बलिदान दिनेहरुको जिल्ला भनेर चिनिन्छ, त्यसैगरी मनास्लु हिमालको जिल्ला भनेर पनि चिन्न थालिएको छ ।

पछिल्ला दिनहरुमा गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउनेहरुको संख्या उल्लेख्य बढेको छ । गतबर्ष यही सिजनमा देशकै सबै हिमालहरु भन्दा कैयौँ गुना धेरै आरोहीले मनास्लु आरोहण गरेका थिए । यसबर्ष पनि अन्य हिमालहरु भन्दा कैयौंगुना धेरै आरोहीले मनास्लु आरोहण गरेका छन् ।

तथ्यगत रुपमा भन्नुपर्दा यसबर्ष ४०४ जनाले मनास्लु आरोहण गर्ने अनुमति लिए । त्यसबापत सरकारलाई चार करोड ६२ लाख रुपैयाँ राजस्व आर्जन भएको छ । देशभरका हिमाल आरोहण अनुमति बापत छ करोड ५९ लाख रुपैयाँ राजस्व आम्दानी भएको मध्य मनास्लु बाट मात्र चार करोड ६२ लाख आम्दानी भएको हो ।

उनीहरु महिनौ मनास्लु क्षेत्रमा रहँदा बस्दा त्यस क्षेत्रका बासिन्दाको पर्यटन व्यवसाय उल्लेख्य रुपमा बढेको छ ।
यसबर्ष मनास्लु आरोहणका लागि ३८ ग्रुपका चारसय चार जनाले अनुमति लिएका थिए । ३०७ जना पुरुष र ९७ जना महिलाले यो हिमाल आरोहणको अनुमति लिएका हुन् ।

यो संख्या गतबर्षको भन्दा धेरै हो ।
देशभरका हिमाल आरोहण गर्न ९५ ग्रुपका ७८५ जनाले अनुमति लिएका थिए । त्यसमध्य मनास्लु आरोहण गर्न ३८ ग्रुपका ४०४ जनाले अनुमति लिएका हुन् ।

यसले विश्वभर मनास्लु हिमालको लोकप्रियता बढिरहेको देखाउँछ ।
मनास्लु आरोहण गर्न मनाङतिरबाट जाने चलन छ ।

यसलाई रोक्न गोरखाबाट जाने पदमार्गलाई स्तरीकृत गर्नु जरुरी छ । हेलिकोप्टरबाट जाने आरोहीलाई पनि पदमार्गबाट जान प्रेरित गर्नुपर्छ । त्यसका लागि पदमार्ग सुरक्षित छ भन्ने प्रत्याभूति दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्