| सोमवार, कार्तिक २३, २०८३

उम्मेद्वारले यथार्थ धरातलमा खुट्टा टेकुन्

निक्कै लामो रस्साकस्सीपछि गठबन्धन दलले मनोनयन दर्ता गर्ने दिनको बिहान मात्र उम्मेद्वारको टुंगो लगायो । गठबन्धनबाहेकका दलले समयमै उम्मेद्वारको टुंगो लगाएका थिए ।

ढिलो वा छिटो उम्मेद्वारको टुंगो लाग्यो, यथासमयमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरे । अब उनीहरु पार्टीले तय गरेको कार्यक्रम अनुसार निर्वाचन क्षेत्रतर्फ जाँदैछन् । निर्वाचन क्षेत्र जाँदा प्रचार प्रसारको क्रममा के–के गर्न पाइने, के के गर्न नपाइने बारे निर्वाचन आयोगले आचार संहिता बनाएको छ । त्यसको कार्यान्वयनमा उनीहरु चुक्ने छैनन् ।

कतिपय उम्मेद्वारहरु गाउँघरमा पुगेर कत्तिपनि नसुहाउने गरी, ग्रामीण भेगका मान्छेलाई नपच्ने गरी फोटो सेसनका लागि मात्र प्रचारप्रसार गर्ने गरेको पनि बिगतका चुनावमा देखिएको, भेटिएको छ । ग्रामीण जनजीवनलाई गिज्याउने गरी यस्ता हर्कत नेता, उम्मेद्वारहरुले गर्ने छैनन् ।

कतिपय यस्ता उम्मेद्वार पनि छन्, जसलाई आफ्नो निर्वाचन क्षेत्रभित्रको भूगोल पनि थाहा छैन । चुनावमा उठ्नैका खातिर उठेका उनीहरुले प्रचार प्रसारको क्रममा पनि सबै गाउँ नपुग्ने गरेको पाइन्छ । हार्नु, जित्नु आफ्नो ठाउँमा छ, तर यो अवसरलाई उपयोग गरी मतदातालाई भेट्न गाउँगाउँ, घरघर पुग्नेछन् । मतदाताले कस्तो उम्मेद्वार खेजेका छन्, आफू कस्तो हुनुपर्ने रहेछ भन्ने बारे अध्ययन गर्नेछन् ।

कैयौँ उम्मेद्वार टिकट पाएपछि अब चुनाव जितियो भने झैँ गरी मतदाताको मन जित्न प्रयासै नगरी, धुलो, माटो बाट परै रहेर छोइछिटो गर्दै हिडेको पनि बिगतमा देखिएको थियो । यस्तो आलोचित गतिविधिबाट सचेत रही मतदाताले उपेक्षा नगर्ने गरी व्यवहार गर्नेछन् ।

जित्नु, हार्नु आफ्नो ठाउँमा छ, यद्यपि राजनीतिक संस्कार बचाएर जनमन जित्ने गरी यथार्थ धरातलमा उत्रिएर प्रचार प्रसार गर्नेछन् । सके यसै पटक जित्नेछन् नसके अर्को पटकका लागि प्लेटफर्म तयार गर्नेछन् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्