
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका ज्येष्ठ नागरिक सम्मानित
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका १४ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघले शनिबार बिहान सदरमुकाममा एक कार्यक्रम आयोजना गरी ८० बर्ष काटेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठले नगद तथा दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसस प्रमुख थापाले जो कोहीका लागि पनि ज्येष्ठ नागरिक अवस्वयंभावी भएकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गरे । नगरपालिकाका मेयर रानाले ज्येष्ठ नागरिकको सहजताका लागि घरघरमा गएर वृद्धभत्ता बाँड्न थालिएको जानकारी दिए । साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्न नगरपालिकाले उचित निर्णय र कार्यक्रम गरिरहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी आचार्यले ज्येष्ठ नागरिक राष्ट्रका परिपक्व र राष्ट्रलाई सही दिशा दिने अभिभावक भएकाले उनीहरुलाई सम्मान गर्न कोही चुक्न नहुनेमा जोड दिए । साथै ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभै घरमै राख्नुपर्ने सुझाव दिए ।
जिल्लाका हरेक पालिका र नगरपालिकाका हरेक वडाहरुमा पनि ज्येष्ठ नागरिकका शाखाहरु गठन भइसकेकाले आगामि दिनमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम तय गर्दा सो समितिलाई समेत समेटेर बनाउन जिल्ला संघका अध्यक्ष श्रेष्ठले सुझाव दिए । जिल्ला संघले नियमित रुपमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम गरिरहेको र अझै गर्दे जाने संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले बताए ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम





