
गोरखाको ग्रामिण सडक हिलाम्य दशैँमा घर फर्किएका यात्रुलाई सास्ती
गोरखाको ग्रामीण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ । दशै लागिसक्दा गोरखाका सबै कच्ची रुटमा अझै गाडी चल्न सक्ने अबस्था नरहेको दरौँदी यातायात सेवा प्रालिले जनाएको छ ।
अहिले बारपाक, बोर्लाङ, ताकु लगायत रुटमा नियमित गाडी चलेका छैनन् । यसअघि यात्रुबाहक बस पुग्ने ३० प्रतिशत भन्दाबढि ग्रामीण भेगमा अझै गाडी चलेको छैन । ठूलाठूला खाल्डाखुल्डी, हिलो जमेकाले यात्रुबाहक सवारी साधन चल्न सकेका छैनन् ।
दशैँ मनाउन सहरबाट गाउँ फर्कनेहरुको चापले गोरखा सदरमुकाम, बाह«किलो, सिउरेनीटार लगायत नाकामा सवारी र यात्रुको चाप बढेको छ । कच्ची सडक हिलाम्य हुँदा मोटरसाईकलमा यात्रा गर्नेहरु जोखिम मोल्न बाध्य छन् । हिलोका कारण सडकमा दुर्घटना हुने गरेको छ । वर्षातलाई कारण देखाएर गाउँपालिकाहरुलेसमयमै सडक मर्मत गरेका छैनन् ।
‘हामीले सडक मर्मत गरिदिन गाउँपालिकाहरुलाई भनिरहेका छौँ’, प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘तर अझै मर्मत भएको छैन, सबै रुटमा गाडी पुगेको छैन ।’ आरुघाट, भच्चेक लगायत रुटमा भने गाडी चलेको उनले बताए । सबै पालिकाले दशैँ अगाडी यसअघि सवारी संचालन भएका रुटको सडक सुचारु गराउने बताएपनि काम भएको छैन । दशैँ अगाडि मान्बुमा पहिलो पटक यात्रुबाहक बस लैजाने गरी योजना बनाएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले सडक आयोजना कार्यालयलाई आफ्नो मातहतको सडक सुचारु राख्न निर्देशन दिएको थियो । ठेक्का भएर निर्माण प्रक्रियामा रहेका सडक खण्ड सम्बन्धित निर्माण ब्यवशायीलाई लगाएर सहज रुपमा नियमित गाडी चल्ने बनाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
तर विकासे अड्डाहरुले सबै सडक मर्मत गरिसेकेका छैनन् ।
दुई महिनादेखि ग्यारेजमा थन्किएका सवारी साधन दशैँ नजिकिँदै गर्दा अझै सबै संचालनमा नआएको ग्रामीण भेगमा यातायात सेवा दिँदै आएको दरौँदी यातायात सेवा प्रालिले जनाएको छ ।




