| मङ्लबार, कार्तिक २४, २०८३

डम्पिङ साइट जाने बाटो भत्किएका कारण फोहोर उठ्न सकेन

गोरखा नगरपालिकामा अव फोहोर नउठ्ने भएको छ । गोनपा ८ मा रहेको डम्पिङ साइट जाने सडक भत्किएकाले फोहोर उठाउन नसकिने आइतबार पत्रकार सम्मेलनामा क्लिन गोरखा प्रालिका संचालक दिपेन्द्र श्रेष्ठले बताए ।

डम्पिङ साइटसम्म जाने सडक विगत केही महिनादेखि विग्रिएकाले र अहिलेसम्म मर्मत हुन नसक्दा फोहोर उठ्न नसकेको क्लिन गोरखा प्रालिका संचालक श्रेष्ठले बताए । कच्ची र भिरालो सडकमा पानीले बाटो पूरै विगारेको र ट्याक्टर र ट्रिपर फँसेर ढुवानी गर्न नसकेको उनले बताए । सवारी साधन सबै तयारी अबस्थामा रहेको तर मुख्य समस्या बाटो भत्किएको र कच्ची सडक मर्मत नहुँदा फोहोर उठ्न नसकेको उनले बताए ।

क्लिन गोरखाले उठाएको फोहोर फाल्ने वैकल्पिक ठाउँ पनि नभएका कारणले यो समस्या आइपरेको उनले बताए । करिव ६० मिटर कच्ची सडक ढलान भएमा समस्या समाधान हुने संचालक श्रेष्ठले जानकारी दिए ।

‘डम्पिङ गर्ने ठाउँमै गाडी नगएपछि फोहोर उठाएर कहाँ लाने ?’, उनले भने, ‘अहिले उठाएको फोहोर डम्पिङ साइटसम्म पु¥याउन नसकेपछि फोहोर सहितको ट्याक्टर र ट्रिपर नगरपालिका कार्यालयको पार्किङ स्थलमा राखिएको छ ।’

नगरपालिकाका जनप्रतिनिधिहरुले समस्या समाधानका लागि कुनै साथ र सहयोग नगरेको उनको गुनासो छ । ‘डम्पिङ साइटसम्म जाने सडक २४ घण्टा नै राम्रोसँग चल्ने हो भने नगरपालिकाभित्रका फोहोर उठ्न कुनै समस्या छैन । त्यसैले नियमित रुपमा आवतजावत गर्न मिल्ने सडक बनाइदिनुप¥यो’, उनले भने ।

वडा नम्वर १ देखि ४ सम्मको फोहोरलाई सोही क्षेत्रमा डम्प गर्ने, १० देखि १४ सम्मको वडाका फोहोरलाई सोही क्षेत्रमा र बाँकी वडाको फोहोर हाल नगरपालिका–८ सिमलगैरीमा रहेको डम्पिङ साइटमा व्यवस्थापन गर्ने व्यवस्था भएमा फोहोर व्यवस्थापनमा धेरै सहज हुने उनले जानकारी दिए । त्यस्तै, इन्धनमा समेत सहुलियत दिन समेत प्रालिले आग्रह गरेको छ । साथै, नगरपालिका ठाउँ ठाउँमा डस्टबिन समेत व्यवस्थापन गरिदिनु उनले आग्रह गरे ।

नगरपालिका भित्रका ४२ सय सात ग्राहक प्रालिमा आवद्ध छन् । तर ग्राहकहरुले फोहोर उठाउने कम्पनीलाई मासिक सय रुपैया दिन समेत आनाकानी गर्ने गरेको उनको गुनासो छ । सरकारी कार्यालयहरु ग्राहक नबनेर पनि समस्या सिर्जना भएको उनले बताए । प्रालिको १७ लाख भन्दा बढी रकम उठान बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्