
उत्तरी गोरखामा पर्यटक आकासबाट ओहोरदोहोर, व्यवसायी चिन्तामा
यस बर्षको पर्वतारोहणको याम सुरु भएको छ । विश्वको सातौँ अग्लो हिमाल मनास्लु आरोहणका लागि यतिबेला सामागाउँका होटल र मनास्लु बेसक्याम्प भरिभराउ भइरहेका छन् । तर बाटोमा होटल व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायी भने आकासतिर हेलिकोप्टर उँडेको हेरेर बस्न बाध्य छन् ।
आरुघाट, सोती, जगत हुँदै मनास्लु भनेर अनुमति लिएका अधिकांश पर्यटक र उनीहरुका सहयोगीहरु आकासमार्ग हुँदै मनास्लु जाने गरेका र केही आरोहीहरु मनाङको बाटो प्रयोग गरेर जाने मनास्लु क्षेत्र होटल व्यवसाय उपसमितिका अध्यक्ष गणेश कार्कीको भनाइ छ । ‘कोभिडले दुई बर्ष होटल बन्द गरेका बसेका थियौँ । यसबर्ष त पक्कै आरोही र पर्यटकहरु आउलान् भनेर होटललाई तयारी अबस्थामा राखियो, तर पर्यटक आकासबाट ओहोरदोहोर गरिरहेका छन् । हामी आकासतिर हेरेर बसेका छौँ’, कार्की भन्छन्, ‘अहिले आरोही ओसार्न दैनिक १५ भन्दा धेरै हेलिकोप्टरले उँडान भर्ने गरेका छन् । आर्खेतसम्म गाडीमा आउने रहेछन् । त्यहाँबाट हेलिकोप्टरले खेप गर्ने रहेछ । दैनिक १५ भन्दा धेरै हेलिकोप्टरले पर्यटक ओसार्छ । हामी आकासतिर हेरेर बसिरहेका छौँ ।’ एकाथरी मार्गको अनुमति लिएर अर्को माध्यमबाट आवतजावत गर्दा व्यवसाय धरासायी भएको उनको गुनासो छ ।
हेलिकोप्टरबाट पर्यटक ओहोरदोहोर गर्दा होटल, लज, टि हाउस सञ्चालक, भरिया तथा खच्चड व्यवसायीको व्यवसाय धरासायी भएको छ । ‘मनास्लु क्षेत्रका होटलहरु सुनसान छन् । न भरियाले काम पाएका छन्, न खच्चड व्यवसायीले’, मनास्लु पदमार्गमा व्यवसाय गर्ने अर्का होटल ब्यबसायी छिरिङ धार्के लामा भन्छन्, ‘व्यवसाय गरौँला भनेर कोभिडका बेला पनि कर तिरेर बसेका व्यवसायीहरु पर्यटक हेलिकोप्टरबाट ओहोरदोहोर गरेपछि समस्यामा परेका छन् ।’ अलिअलि हिड्ने आरोही पनि मनाङको बाटो प्रयोग गरेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेका उनको भनाइ छ ।
पर्यटन क्षेत्रमा भएको विकृति, विसंगति नियमन गर्न सम्बन्धित निकायले आँखा चिम्लँदा पर्यटन उद्योगबाट देश विकास हुन्छ भन्ने नारा झुठो सावित हुने व्यवसायीहरुको गुनासो छ ।




