
गोरखामा विद्यालयमा नियुक्त भएका नर्सहरु धमाधम विद्यालय छाड्दै
केशव गुरुङ :
‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाका विद्यालयमा नियुुक्त भएका नर्सले अहिले धमाधम विद्यालय छाड्न थालेका छन् । गोरखा नगरपालिका भित्रका १७ वटा माविलाई हेर्न गरी २०७७÷०७८ मा १३ जना नर्स नियुक्त भएका थिए । उनीहरुमध्य तीनजनाले गतबर्ष नै विद्यालय छाडिसकेका हुन् ।
संघीय सरकारको कार्यक्रम अन्तर्गत १० जना र नगरपालिका स्वयंले ३ जना नर्स नियुक्त भएका थिए । कोहीले अध्ययनका लागि र कोहीले घरायसी कामका लागि भनेर छाडेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । हाल कार्यरतहरुमध्य पनि छोड्ने क्रम जारी रहेको छ ।
विद्यालयमा कुनै विद्यार्थी बिरामी भए वा चोटपटक लागेमा नर्सहरुले प्राथमिक उपचार गर्दै आएका थिए । जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान नर्सले सिफारिस गर्ने गर्दथे । विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामग्री तथा औषधिसहित विद्यालयमा खटिन्छन् । तर उनीहरुले धमाधम विद्यालय छाडेपछि समस्या थपिएको प्रधानाध्यापकहरुको भनाइ छ ।
नर्सले विद्यालय छोडेसँगै विद्यार्थीहरुको उपचार गर्न र स्वास्थ्य सम्बन्धी जानकारी दिन समस्या भएको राष्ट्रिय मावि घलाङका प्रधानाध्यापक मिन बहादुर नेपालीले बताए । ‘यसअघि विद्यालयमा नर्स आउँदा विद्यार्थीहरुले नियमित रुपमा स्वास्थ्य सेवा पाउँथे । नर्सले विद्यार्थीहरुलाई स्वास्थ्य र सरसफाई सम्बन्धी विभिन्न सिपहरु सिकाइदिनुहुन्थ्यो’, उनले भने, ‘चोटपटक लागे, ज्वरो आए, पेट दुखे, पखाला लागे तत्काल औषधी दिनुहुन्थ्यो । अझै महिनावारी भएका छात्राहरुले प्रभावकारी सेवा पाएका थिए । तर अहिले नर्स नहुँदा विद्यार्थीहरुलाई निक्कै समस्या भएको छ ।’
विद्यालयमा नर्स नहुँदा विद्यार्थीको स्वास्थ्य जाँजसँगै स्वस्थ्य सम्बन्धी ज्ञानगुनका कुरा सिक्न नपाएको उनले बताए । विन्ध्यावासिनी मावि र राष्ट्रिय मावि हेर्नका लागि नगरपालिकाले नियुक्ती गरेको नर्सले गत वर्षको फागुन महिनामा छोडेकी थिइन् । नगरपालिकासँग पटक पटक अनुरोध गरेपनि कुनै सम्बोधन नभएको उनले जानकारी दिए ।
त्यस्तै, शक्ति मावि, नवज्योति मावि र रत्नलक्ष्मी माविका लागि नियुत्ती गरेका दुई जना नर्सले पनि काम छोडेको गोरखा नगरपालिकाले शिक्षा शाखाले जनाएको छ । उनीहरुले गत चैत महिनामा जागिर छाडेका थिए । खाली भएको शक्ति मावि, नवज्योति मावि र रत्नलक्ष्मी माविमा मौजुदा नर्सहरुले आलोपालो गर्दै काम गरिरहेका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।
त्यस्तै घलाङको राष्ट्रिय मावि र नारेश्वरमा विन्धावासिनी माविमा भने हाल खाली रहेको र विद्यार्थीहरुलाई केही भएमा नजिकैको स्वास्थ्य चौकी जानुपर्ने वाध्यता रहेको उनले बताए । गोरखा सदरमुकाममा रहेको शक्ति माविमा महेन्द्रज्योति माविमा खटिएका नर्सले आलापोलो गर्दै आएका छन् ।
नवज्योति र रत्नलक्ष्मी माविमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक नर्सलाई खटाइएको रेग्मीले बताए ।
विद्यालय तहमा नै विद्यार्थीहरुको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्न, सरुवा र नसर्ने रोग रोकथाम बारेमा जानकारी गराई स्वस्थ जीवनयापन अपनाउन उत्प्रेरित गर्न हरेक सामुदायिक विद्यालयमा नर्स राखिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्र बहादुर खड्काले बताए ।
उनका अनुसार नर्सले विद्यालयमा जङ्कफुड निरुत्साहित गर्ने, यौन तथा प्रजजन, मानसिक, मुख तथा दाँत र आँखाको स्वास्थ्य जस्ता विषयमा स्वास्थ्य परीक्षण गर्ने र परामर्श सेवा प्रदान गर्ने र सर्ने तथा नसर्ने रोगहरुको रोकथामका लागि विद्यार्थीहरुको सहभागितामा चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने छन् ।
गोरखामा हाल गोरखा नगरपालिकामा मात्र यो कार्यक्रम लागु भएको हो ।




