
गोरखाको दुर्गम गाउँहरुमा हेपाटाइटिस बी को चर्को समस्या
वैदेशिक रोजगारीका लागि भिसा प्रक्रिया सबै ठिकठाक भएर पनि धार्चे २ का धेरै जना स्वास्थ्य चेकजाँचमा असफल भएर फर्किनु प¥यो । फर्किएका धेरै जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको थियो तर उनीहरुले गाउँमा आएर सो कुरा खुलाउन चाहेनन् ।
‘भिसा प्रक्रियामा स्वास्थ्य चेकजाँच गर्दा हेपाटाइटिस बी देखिएपछि केरौँजाका मात्र आठजना फिर्ता भएको मेरो जानकारीमा छ’, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अमृत घलेले भने, ‘तर प्रायले यस्तो बिषय खुलाउन चाहँदैनन्, त्यसैले झनझन फैलने सम्भावना धेरै छ । कति जनामा यो रोग छ भनेर पहिचान गर्न कठिन छ ।’ केरौँजा मात्र होइन, दुर्गम धार्चे गाउँपालिकाका प्राय सबै ठाउँमा यस्तो समस्या रहेको तर पहिचान गर्न नसकिएको उनको भनाइ छ ।
‘यसको लक्षण पनि बाहिर देखिँदैन । हेपाटाइटिस पहिचानका लागि परीक्षण शिविर पनि गरिएको छैन’, घले भन्छन्, ‘एचआईभी, हेपाटाइटिस जस्ता रोगलाई समाजमा लुकाउने प्रचलन छ । समयमै पत्ता लगाएर रोकथाम गर्नुपर्ने हो, तर यहाँ शंकास्पद व्यक्तिहरु स्वयं चेकजाँच गराउन पनि जाँदैनन, बिभिन्न क्रममा परीक्षण गराउँदा पोजेटिभ देखियो भने पनि लुकाउने चलन छ, जुन घातक छ ।’
अर्को दुर्गम चुमनुब्री गाउँपालिकामा झन् यो समस्या जकडिएर रहेको छ । चुमनुब्री गाउँपालिका ३ साविक सिर्दिबास गाविसका प्राय सबै गाउँटोलका बासिन्दामा हेपाटाइटिसको समस्या छ । ‘१५ घरधुरी रहेको नाग्चेतका १२, १३ जनामा यो समस्या छ भन्ने पुष्टि भएको छ’, सिर्दिबास स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक वुद्ध गुरुङले भने, ‘६० घरधुरी रहेको पाती गाउँका करिब २० जनामा हेपाटाइटिस बी र एकजनामा हेपाटाइटिस सी पनि भेटिएको छ ।’ १४० घरधुरी रहेको पाङसिङका १३ जनामा, १५ घरधुरी रहेको फ्याक्पाका ६ जनामा, एकसय घरधुरी रहेको फिलिमका ४, ५ जनामा, १५ घरधुरी रहेको सल्लेरीमा चार जनामा र छेकम्पारका तीन चारजनामा हेपाटाइटिस पुष्टि भइसकेको उनले बताए ।
गर्भवतीको नियमित स्वास्थ्य जाँचको क्रममा, वैदेशिक रोजगारीको क्रममा स्वास्थ्य चेकजाँचको क्रममा यस्ता समस्या पहिचान भएको उनले बताए । यही रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्य चेकजाँच गर्न सके अझै धेरै पहिचान हुने उनको भनाइ छ । ‘अहिले जतिपनि देखिएका छन्, लक्षण नभएका संक्रमितहरु हुन्’, गुरुङ भन्छन्, ‘एचआईभी भन्दा १० गुना बढि सर्न सक्ने क्षमता भएको रोग भएकाले अहिले लक्षण नदेखिए पनि बेलैमा पहिचान गरी रोकथाम नगरे पछि यसको अबस्था बिकराल हुनसक्छ ।’
यसबारे जिल्लास्थित स्वास्थ्य कार्यालयमा पनि खबर गरिरहेको उनको भनाइ छ । रोग पहिचान र जनचेतना जगाउनका लागि शिविर सञ्चालन गर्न सके अति उत्तम हुने उनको भनाइ छ ।
रोग न्यूनिकरणका लागि स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
आजीवन रहने यो रोगले कलेजोमा असर गर्छ ।
यस रोगको औषधि काठमाडांैमा पाइए पनि निकै महँगो पर्छ । बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटीस ‘बी’ विरुद्धको खोप नलगाए पनि यो रोगले संक्रमण गर्छ ।
असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्क, वीर्य, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ । धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने उनको भनाइ छ ।
हेपाटाइटिस बी र सी परीक्षण गर्ने प्रविधि जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत छैन । ‘यो गम्भीर खालको बिषय हो’, स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्का भन्छन्, ‘जनचेतनाको अभावले दुर्गम गाउँहरुमा यस्तो समस्या धेरै देखिएको हो । परीक्षण गर्ने र जनचेतना जगाउने खालका कार्यक्रम गर्न सके राम्रो हुन्छ ।’




