
आँखाको सहारा बन्दै लायन्स आँखा अस्पताल
केशव गुरुङ :
गोरखा सदरमुकाममा रहेको लायन्स आँखा अस्पताल हजारौको आँखाको ज्योति बन्दै आएको छ । २०६१ सालमा स्थापना भएको आँखा अस्पतालले विगत ११ वर्षदेखि नै आँखाको मोतियाविन्दु अप्रेशन गर्दै आएको छ । जिल्लामै आँखाको मोतियाविन्दुको अप्रेशन गर्न पाउँदा जिल्लाबासी धेरै खुसी छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ८ बोर्लाङबाट आएका भक्तबहादुर श्रेष्ठले गोरखामा आँखाको अप्रेसन सेवा लिन पाउँदा धेरै खुसी लागेको बताउँछन् । ८३ वर्षीय उनी विगत ५÷६ वर्ष देखि नै आँखा नदेख्ने समस्या झेल्दै आएका थिए । आँखा धमिलो हुँदा काम गर्न र यताउता जान अप्ठ्यारो हुने गरेको थियो । तर अहिले आँखाको अप्रेसन गरेसँगै सबै छर्लङ्ग देखेको र धेरै खुुसी लागेको उनले बताए ।
पालुङटार नगरपालिका वडा न १० मिरकोटकी सरस्वती थापामगर पनि गत १९ गतेको शिविरमा सहभागी भई आँखा अप्रेशन गरेकी थिइन् । मोतियाविन्दुको अप्रेशन गरेको उनी अहिले छर्लङ्ग आँखा देख्न सक्छिन् । उनी जस्तै मिरकोटकै अर्की स्थानीय शीरमाया खत्रीमा पनि अहिले प्रस्ष्टसँग आँखा देख्ने भएकी छिन् । ८३ वर्षीया खत्री केही वर्ष अघि दुईवटै आँखा नदेख्ने भएकी थिइन् । ‘एउटा आँखाको अघिल्लो जेठ महिनामा अप्रेशन गरेको हो’, उनी भन्छिन्, ‘अर्को आँखा अहिले अप्रेशन गरेपछि प्रकस्ट देख्न सक्छु । अहिले दुइटै आँखाले संसार हेर्न पाउँदा धेरै खुसी लागेको छ ।’

सन २०२१ मा दुई सय १३ जनाले आँखाको अप्रेशन गरेको अस्पतालले जनाएको छ । सो समयमा सिरानचोक गाउँपालिकामा एउटा मेगा सर्जिकल क्याम्पसहित अस्पतालमा गरेर १० वटा क्याम्प संचालन भएको थियो । सोही वर्ष जिल्लाभरका नौहजार आठसय ५१ जनाले आँखाको चेकजाँच गरिएको लेखा तथा प्रशासकीय अधिकृत विमला कार्कीले बताइन् । उनीमध्यबाट दुई सय १३ जनाको आँखाको अप्रेशन गरिएको उनले बताइन् ।
सन २०२२ को हालसम्ममा सात हजार चारसय जनाले आँखाको चेकजाँच तथा उपचार सेवा लिएका छन् । उनीहरु मध्यबाट हालसम्म एक सय ३२ जनाको आँखाको अप्रेशन गरिएको कार्कीले जानकारी दिइन् ।
आँखा अस्पतालले हरेक महिनाको १६ गते धार्चे, १७ गते आरुघाट, १८ गते घ्याल्चोकमा आँखा शिविर संचालन गर्दै आएको छ । शिविरमा सामान्य आँखाको चेकजाँच गर्ने र गम्भीर समस्या देखिएमा वा आँखाको अपे्रशन गर्नुपर्ने भएमा गोरखा आँखा अस्पतालमा रिफर गर्ने गरेको छ ।
यसरी हरेक महिनाको १९ गते गोरखास्थित आँखा अस्पतालमा आएका आँखाका विरामीहको चेकजाँच गरी अप्रेशन गर्ने गरेको छ । यही भदौ महिनाको १९ गते अस्पतालमा संचालन भएको अप्रेशन शिविरमा एकसय सात जनाले आँखाको चेकजाँच गराएका थिए । उनीहरुमध्ये २२ जनाको आँखाको मोतियाविन्दुको अप्रेशन गरिएको गोरखा आँखा सेवा केन्द्रका अध्यक्ष योङ कुमार श्रेष्ठले बताए । उनीहरुमध्ये नौजना पुरुष र १३ जना महिला रहेका छन् ।

हिमालयन आँखा अस्पताल पोखराबाट विशेषज्ञ सहितको टोलीले बर्षौँदेखि गोरखाका आखाका बिरामीहरुको आँखा चेकजाँच गरी अप्रेशन गरिरहेका उनले बताए । यसपटक डाक्टर गोविन्दनाथ योगीको नेतृत्वमा आएको टिमले आँखा अप्रेशन शिविर संचालन गरेको हो ।
डा.योगीले पछिल्लो समयमा मानिसहरुको उमेर ढल्किदै गएपछि चस्मा लगाउनुपर्ने समस्या बढ्दै गएको बताए ।
गोरखामा पनि यसको समस्या व्यापक रहेको उनको भनाइ छ । ‘विशेष गरेर मानिस ४०÷५० वर्ष नाघेपछि आँखाभित्र लेन्समा दाग बस्ने गर्छ’, उनी भन्छन्, ‘केहीको आँखामा मोतियाविन्दुको समस्या हुने गरेको छ । अहिलेका बालबालिकाहरु बढी समय मोबाइल तथा कम्प्यूटरमा रमाउने भएकाले आँखामा गम्भीर समस्या देखिन थाल्छ ।’
त्यस्तै, आगामि दिनमा गोरखा आँखा अस्पताललाई दैनिक रुपमा संचालन गर्नका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने उनले जोड दिए । अस्पतालमा आँखा सम्बन्धी सेवा लिन कम मान्छे आउने र यसले आर्थिक स्रोत अभाव हुने भएकाले दैनिक रुपमा अप्रेशन सेवालाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । दैनिक रुपमा सात जना भन्दा बढी सेवाग्राही सेवा लिन आएमा आगामि दिनमा दैनिक रुपमा आँखाको शल्यक्रिया लगायतका कार्यक्रम संचालन गर्न सकिने उनले बताए । नेपाल नेत्रज्योति संघबाट अनुमति लिएर प्रस्तावित आँखा अस्पतालाई आँखा अस्पतालको रुपमा विकास गर्नुपर्ने उनले बताए ।
गोरखामा डायबिटिज रेटिनोप्याथिक सेवा सुरु
गोरखा आँखा अस्पतालबाट डायबिटिज रेटिनोप्याथिक सेवा सुरु भएको छ । पहिलो पटक मधुमेह(डायबिटिज) बाट आँखाको पर्दा(रेटिना) मा पर्न जाने असरको जाँच तथा उपचार सेवा सुरु गरिएको आँखा अस्पतालका अध्यक्ष योङकुमार श्रेष्ठले बताए । औषधी सेवन गर्दै आएका सुगरका विरामीहरुको आँखा के कस्तो असर पर्छ या पर्दैन भनेर यो सेवा सुरु गरिएको बताए । यो महिना २१ जना पुरुष र १६ जना महिला गरी ३७ जनाले यो सेवा लिएका छन् ।




