
सेवा बढेसंगै गोरखा अस्पतालमा सेवा लिनेको संख्या दोब्बर
सेवामा स्तरोन्नति गर्न थालेपछि गोरखा अस्पतालमा सेवा लिने बिरामीको संख्या बिगत छ महिनामै दोब्बर बढेको छ । गत फागुनसम्म ओपिडी सेवा लिन आउने बिरामी संख्या मुस्किलले एकसय, एकसय २० जना हुने गरेको यहाँ अहिले दैनिक अढाइदेखि तीनसयसम्म हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
‘आइतबार अथवा विदाको दिनको भोलिपल्ट त यहाँको ओपिडीमा तीनसय जनाभन्दा धेरै बिरामी आएका हुन्छन्’, उनले भने, ‘अरु दिनमा पनि सँधै अढाइसय भन्दा धेरै नै हुन्छन् । बिरामीको संख्या बढेपछि अस्पतालको आम्दानी पनि दोब्बर, तेब्बर वृद्धि भएको छ ।’ नयाँ भवनबाट अस्पतालले विभिन्न सेवा थप गरेपछि बिरामीहरु अस्पतालमा आएका उनको भनाइ छ ।
गोरखा अस्पतालमा केहीदिनयता हेमोडाइलासिस सेवा सुरु भएको छ । थाइराइड परीक्षण सुरु भएको छ भने विशेषज्ञबाट हाडजोर्नी तथा नशा रोगको परीक्षण तथा उपचार सेवा सुरु भएको छ । रक्तसञ्चार(व्लड वैँक) सेवा सुरु भएपछि अस्पतालमा शल्यक्रिया सेवा लिन आउनेहरु पनि बढेको अस्पतालले जनाएको छ ।
अहिले गोरखा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकले नियमित सेवा दिन थालेका छन् । एकबर्षअघिसम्म दुईजना, तीनजना मात्र विशेषज्ञ चिकित्सकले सेवा दिएका यहाँ अहिले विशेषज्ञ चिकित्सकको सबै दरबन्दी भरिपूर्ण भएको छ ।
‘अहिले गोरखा अस्पतालमा स्त्री तथा प्रसुती रोगका तीनजना विशेषज्ञ हुनुहुन्छ, जनरल सर्जन दुईजना हुनुहुन्छ’, ढकालले भने, ‘एकजना जनरल फिजिसियन, बालरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, एमडिजिपी एकजना र एकजना हाडजोर्नी तथा नशारोग विशेषज्ञले अस्पतालमा सेवा दिइरहनु भएको छ ।’ धेरै समस्याको परीक्षण र उपचार सेवा हुन थालेपछि गोरखा अस्पतालमा बिरामी आउने क्रम बढेको छ ।
अस्पतालमा गतहप्ताबाट हेमोडायलासिस सेवा सुरु भएको छ । मिर्गौला रोगबाट पिडित बिरामीका लागि हेमोडायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । पहिलो पटक मिर्गौलाको डायलासिस अन्य अस्पतालमा गराएका र निरन्तर सेवा लिनुपर्नेहरुका लागि यहाँ नै निशुल्क हेमोडायलासिस सेवा सुरु भएको ढकालले बताए ।
अस्पतालमा अहिले एकजना मेडिकल ल्याब टेक्नोलोजिस्ट र ल्याब तीन जना टेक्निसियन थपिएका छन् । यसअघि तीनजना प्राविधिकले काम चलाएका यहाँको ल्याबमा अहिले आठ जना प्राविधिकहरु खटिन्छन् । ‘थाइराइड परीक्षण सेवा अस्पतालका लागि बरदान हो, किनभने अहिलेसम्म सबैभन्दा धेरै बिरामी थाइराइड परीक्षण गर्नकै लागि बाहिर जिल्ला रिफर गर्ने गरिएको थियो’, सूचना अधिकारी ढकाल भन्छन्, ‘धेरै खाले समस्या भएका बिरामीको थाइराइड परीक्षण गर्नुपर्ने हुन्छ । अब त्यस्ता सबै बिरामीले यहीँ सेवा पाउँछन् ।’ अहिले तत्कालका लागि अस्पतालले हप्तामा मंगलबार र शुक्रबार गरी दुई दिन मात्र थाइराइड परीक्षण गर्ने गरेको छ । अघिल्लो दिनमा परीक्षणका लागि लिइएको थाइराइडको रिपोर्ट भोलिपल्ट मात्र उपलब्ध गराइने गरिएको उनले बताए । थाइराइड परीक्षणको शुल्क नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।
साथै अस्पतालले एउटै समयमा दुईजना बिरामी तथा घाइतेको शल्यक्रिया गर्न सक्ने सूचना अधिकारी ढकालले बताए । अस्पतालमा दुईजना जनरल सर्जन र एनेस्थेसियोलोजिस्ट जनशक्ति उपलब्ध भएकाले एकैसाथ दुईजनाको शल्यक्रिया गर्न सम्भव भएको हो । ‘यसअघि एकजनाको शल्यक्रिया भइरहेको अबस्थामा शल्यक्रिया गर्नुपर्ने अर्को बिरामी आएमा रिफर गर्नुपर्ने अबस्था थियो । अब त्यो अबस्था छैन’ ढकालले भने, ‘अब एकै समयमा दुईजनाको शल्यक्रिया पनि हुनसक्ने अबस्था भएको छ ।’
अस्पताल आसपासमा रेडक्रस सोसाइटीले रक्तसञ्चारकेन्द्र स्थापना गरेपछि शल्यक्रियाका लागि पनि धेरै टेवा पुगेको अस्पतालले जनाएको छ । यसअघि रगतको कुनै निश्चित नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सुत्केरीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता थियो । ‘कि बाहिर जिल्ला पठाउनु पथ्र्यो, कि रगत दिने मान्छे स्ट्याण्डबाइ गरेर मात्र शल्यक्रिया थाल्नुपर्ने अबस्था थियो’, ढकालले भने, ‘तर अब रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अपरेशन गर्न धेरै अनुकूल भएको छ ।’
गोरखा अस्पतालमा रहेको शवगृहमा मर्चुरी च्याम्बर पनि सञ्चालनको तयारी गरिएको अस्पताले जनाएको छ । ‘शवलाई लामो समयसम्म चिस्यान गराई राख्नका लागि मर्चुरी च्याम्बर पनि अबको एकदुई दिनमै सञ्चालन गर्दैछौँ’, सूचना अधिकारी ढकालले भने, ‘स्रोत साधन तयार छ । अस्पताल सञ्चालक समितिले अब कसरी सञ्चालन गर्ने भनेर मोडालिटी बनाउँदै छ । एकदुईदिनभित्रै यो पनि सञ्चालन हुनेछ ।’
यसअघि एकबजेसम्म मात्र टिकट काट्ने बिरामी आउने गरेकामा अहिले तीनबजेसम्म टिकट काट्न आउने गर्छन् । आवश्यकता हेरेर अस्पतालले विशेषज्ञ चिकित्सकका साथमा पेइङ क्लिनिक पनि सञ्चालन गरिरहेको छ ।




