
गोरखा अस्पतालद्वारा गतवर्षको गतिविधिको समीक्षा
गोरखा अस्पतालले आर्थिक वर्ष २०७८\०७९ मा भए गरेका गतिविधिको समीक्षा गरेको छ । आईतवार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले अस्पतालको गतिविधिबारे जानकारी गराएका हुन् ।
अघिल्लो वर्षको तुलनामा गतवर्ष बिरामीको चाप तेब्बर बढेको, विषेशज्ञ सेवा थपिँदै गएको, बिरामी रिफर दर घटेको, सुविधा सम्पन्न भवनमा गोरखा अस्पताल संचालन भएको, बिस्तारित सेवा सुरु गर्न सफल भएको निमित्त मेसु श्रेष्ठले बताए । विद्युतको बिकल्पमा सोलार, जेनेरेटर राख्ने तयारी भइरहेको, सेवा बिस्तार र आईसियू संचालनको तयारीमा रहेकाले सेवा थप बढ्ने उनले बताए ।
अस्पतालमा सेवाको निरन्तरताकालागि जनशक्ति अभाव, अस्पताल ब्यवस्थापन समितिसँग स्रोत साधन अभाव, फोहोर ब्यवस्थापनको समस्या, अस्पतालभित्र पार्किङ र खुल्ला ठाउँ कम हुनु, बिमा रकम ढिला आउने, विशेषज्ञ चिकित्सक टिकाउन चुनौती हुनु जस्ता समस्यालाई सुधार गर्नुपर्ने निमित्त मेसु श्रेष्ठले बताए । साथै उनले बिगतमा भन्दा सबैखाले सेवाको स्तर सुधार हुँदै गएको बताए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल लगायतले मन्तब्य राखेका थिए ।
अस्पतालको सेवा र अवस्थाका बारेमा नेपाल रेडक्रस सोसाईटीका सभापति यदुविलास भट्टराई, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले सुझाब दिएका थिए ।
उक्त समीक्षा कार्यक्रमको सहजिकरण अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले गरेकी थिईन ।




