
हटियाथोक–पोखराथोक लिफ्टिङ खानेपानीको भवन उद्घाटन
गोरखा नगरपालिका वडा नं ६ मा रहेको हटियाथोक–पोखरीथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले समितिको भवन उद्घाटन गरेका हुन् ।
संस्थाको दशौँ साधारण सभा एवं पाँचौ अधिवेशनका अवसरमा भवनको उद्घाटन गरिएको हो । करिब २८ लाख लागतमा दुईकोठे भवन निर्माण भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर अछामीले बताए । गोरखा नगरपालिकाको २४ लाख र समितिको चार लाखमा भवन निर्माण भएको हो । समितिको आफ्नै भवन निर्माण भएसँगै खानेपानी उपभोक्ता समितिलाई कार्यालय संचालन गर्न धेरै सहज हुने उनले जानकारी दिए ।
कार्यक्रममा संस्थका अध्यक्ष अछामीले संस्थाको आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को अध्यक्ष प्रतिवेदन र कोषाध्यक्ष गमती घलेले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सोमबहादुर अच्छामीको अध्यक्षता तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, निवर्तमान मेयर राजनराज पन्त, निवर्तमान उपमेयर विना कुमारी श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।




