
हाडजोर्नी रोगको उपचार पनि अब गोरखा अस्पतालमै
सेवामा धमाधम स्तरोन्नति गरिरहेको गोरखा अस्पतालले हाडजोर्नीसम्वनधी समस्याको परीक्षण र उपचार सेवा पनि सुरु गरेको छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञको पदपूर्ति भएपछि बिहिबारदेखि हाडजोर्नी सम्वनधी सेवा पनि सुरु गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘गोरखा अस्पतालमा अबदेखि हाडजोर्नी र नशासम्वनधी समस्याको चेकजाँच र उपचार सेवा पनि सुरु भएको छ’, उनले भने, ‘अब हाडजोर्नी र नशाका बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।’लामो समयदेखि रिक्त रहेको हाडजोर्नी तथा नशारोग विशेषज्ञको दरवनदी हालै पदपूर्ति भएको उनले बताए ।
साथै अस्पतालले एउटै समयमा दुईजना बिरामी तथा घाइतेको शल्यक्रिया गर्न सक्ने सूचना अधिकारी ढकालले बताए । अस्पतालमा दुईजना जनरल सर्जन र एनेस्थेसियोलोजिस्ट जनशक्ति उपलब्ध भएकाले एकैसाथ दुईजनाको शल्यक्रिया गर्न सम्भव भएको हो । ‘यसअघि एकजनाको शल्यक्रिया भइरहेको अबस्थामा शल्यक्रिया गर्नुपर्ने अर्को बिरामी आएमा रिफर गर्नुपर्ने अबस्था थियो । अब त्यो अबस्था छैन’ ढकालले भने, ‘अब एकै समयमा दुईजनाको शल्यक्रिया पनि हुनसक्ने अबस्था भएको छ ।’
गोरखा अस्पतालमा अहिले विभिन्न ११ जना विशेषज्ञहरुले सेवा दिइरहेको अस्पतालले जनाएको छ । ‘अहिले गोरखा अस्पतालमा स्त्री तथा प्रसुती रोगका तीनजना विशेषज्ञ हुनुहुन्छ, जनरल सर्जन दुईजना हुनुहुन्छ’, ढकालले भने, ‘एकजना जनरल फिजिसियन, बालरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, एमडिजिपी एकजना र एकजना हाडजोर्नी तथा नशारोग विशेषज्ञले अस्पतालमा सेवा दिइरहनु भएको छ ।’ धेरै समस्याको परीक्षण र उपचार सेवा हुन थालेपछि गोरखा अस्पतालमा बिरामी आउने क्रम बढेको छ ।
‘यसअघि दैनिक ५० जना, ६० जना बिरामी आउने यहाँ अहिले दैनिक सरदर दुईसय ५० जना बिरामी आउने गर्नुहुन्छ’, ढकालले भने, ‘अचेल यहाँ डाइलासिस सेवा, थाइराइडको परीक्षण पनि हुन थालेको छ । यसअघि दुईजना, तीनजनाले चलाइरहेको ल्याबमा अहिले आठ जना दक्ष जनशक्तिले सेवा दिन थाल्नुभएको छ ।’ यहाँ नै स्रोत र साधन पुगेर सेवा दिन थालेपछि बिरामीहरु महंगो खर्च गरी अन्य जिल्ला धाउनु नपर्ने उनले बताए । हालै रेडक्रस सोसाइटीले रक्तसञ्चारकेन्द्र स्थापना गरेपछि शल्यक्रियाका लागि पनि धेरै टेवा पुगेको अस्पतालले जनाएको छ ।
यसअघि रगतको कुनै निश्चित नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सुत्केरीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता थियो । ‘कि बाहिर जिल्ला पठाउनु पथ्र्यो, कि रगत दिने मान्छे स्ट्याण्डबाइ गरेर मात्र शल्यक्रिया थाल्नुपर्ने अबस्था थियो’, ढकालले भने, ‘तर अब रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अपरेशन गर्न धेरै अनुकूल भएको छ ।’
गोरखा अस्पतालमा रहेको शवगृहमा मर्चुरी च्याम्बर पनि सञ्चालनको तयारी गरिएको अस्पताले जनाएको छ । ‘शवलाई लामो समयसम्म चिस्यान गराई राख्नका लागि मर्चुरी च्याम्बर पनि अबको एकदुई दिनमै सञ्चालन गर्दैछौँ’, सूचना अधिकारी ढकालले भने, ‘स्रोत साधन तयार छ । अस्पताल सञ्चालक समितिले अब कसरी सञ्चालन गर्ने भनेर मोडालिटी वनाउँदै छ ।
एकदुईदिनभित्रै यो पनि सञ्चालन हुनेछ ।’ यसअघि एकबजेसम्म मात्र टिकट काट्ने बिरामी आउने गरेकामा अस्पतालले सेवा विस्तार गरेपछि अहिले तीनबजेसम्म टिकट काट्न आउने गर्छन् । आवश्यकता हेरेर अस्पतालले विशेषज्ञ चिकित्सकका साथमा पेइङ क्लिनिक पनि सञ्चालन गरिरहेको छ ।




