
गोरखा २ मा चुनाव लड्न कांग्रेसका सुरेन्द्रराज पाण्डेको एकल आवेदन
आसन्न निर्वाचनमा गोरखा २ मा उम्मेदवार छनौटका लागि क्षेत्रीय समितिले मागेको प्रस्तावमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको एकल आवेदन परेको छ ।
गठबन्धन दलहरु बीच गोरखा २ कसले लिने भन्ने रस्साकस्सी चलिरहेका बेला क्षेत्रीय समितिमा कांग्रेस नेता पाण्डेको एकल उम्मेदवारी परेको हो । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समेत निर्वाचन क्षेत्र रहेकाले गठबन्धन दलहरुलाई गोरखा २ को टिकट बाँडफाँड पेचिलो बनिरहेका बेला कांग्रेसले पाण्डेलाई अघि सारेको हो ।
क्षेत्रीय समितिले उम्मेदवार बन्न आकांक्षीहरुलाई बुधवार अवेदन पेश गर्न सूचना जारी गरेको क्षेत्रीय सभापति गोविन्द गुरुङले बताए । ‘संघीय क्षेत्रमा प्रत्यक्षतर्फ एक जना सुरेन्द्रराज पाण्डेको मात्रै आवेदन परेको छ’, उनले भने, ‘समानुपातिकतर्फ चार जना छन् ।’ आवेदन पेश भए अनुसार क्षेत्रीय समितिले जिल्ला समितिमा नाम सिफारिस गर्ने उनले बताए ।
समानुपातिकतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, पूर्व जिल्ला सभापति हरिबहादुर घले, महाधिवेशन प्रतिनिधि पिताम्बर बडु, अम्बिका न्यौपाने, गोमा ढकालले आवेदन दिएका छन् ।




