
बेलायत रश्मोरको टोली भगिनी संम्बन्ध गाँसेको गोरखा नगरमा
बेलायतको रश्मोर बरोको एक प्रतिनिधिमन्डल गोरखा नगरपालिकाको औपचारिक भ्रमण तथा भेटघाटका लागि बिहिवार साँझ गोरखा आईपुगेको छ ।
श्मोर बरोको प्रतिनिधिमन्डलको नेतृत्व डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका छन् । सो प्रतिनिधी मण्डलमा रसमोर बरो काउन्सिलका काउन्सीलर जीव बेल्वासे, डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्र क्लोभरका, श्रीमती अमृता बेल्वासे र इज्जी सिहान पनि छन् । उनीहरु पाँचदिने भ्रमणका लागि नेपाल आएका हुन् ।
टोलीले गोरखामा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सँग भेटघाट एवं छलफलगर्ने कार्यक्रम तय भएको छ । रश्मोरको टोलीले भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालसँग पनि भेटघाटको कार्यक्रम राखेको छ ।
तीन वर्षअघि मितेरी सम्बन्ध गाँसेको गोरखा नगरपालिकाले भ्रमणका लागि रश्मोर बरोको टोलीलाई निमन्त्रणा गरेको थियो । दुई नगरबीचको मितेरी सम्बन्धलाई थप मजबुद बनाउने उद्धेश्यले नियमित भ्रमण गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
दुई नगरबिच स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, प्रशासन लगायतका विविध पक्षको अवलोकन तथा अनुभव आदानप्रदान हुने गरी कार्यक्रम तय गरिएको छ । स्थानीय ऐतिहासिक गोरखा दरबार, गोरखा संग्राहलयसहितका सांस्कृतिक,पर्यटकीय स्थानको भ्रमण पनि तालिकामा समावेश छन् ।
बिहीबार काठमाडौं उत्रिएलगत्तै टोली गोरखा आएको हो । रश्मोरको प्रतिनिधिमन्डललाई गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल, सामाजिक बिकास शाखा प्रमुख बिजयभक्ता उपाध्याय, प्राविधिक कपिल कोईराला लगायतले स्वागत गरेका थिए ।
रश्मोरको टोली अगस्ट २९ मा चितवन हुँदै काठमाडौं फर्किने कार्यक्रम छ । यसअघि सन् २०१९ मा गोरखा नगरपालिकाका मेयरको प्रत्यक्ष उपस्थितिमा बेलायतमा दुई नगरबीच मितेरी सम्बन्ध गांसिएको हो । त्यसयता कोभिड महामारीको कारण रश्मोर बरो काउन्सिलको पहलमा करिब ८० लाख रुपैया बराबरको राहत तथा स्वास्थ्य सुरक्षा सामग्री गोरखा पठाएको थियो ।
गोरखा नगरपालिकाका पूर्व मेयर राजनराज पन्तको सक्रियतामा रश्मोरसँग गोरखा नगरपालिकाले भगिनी सम्बन्ध स्थापित गरेको थियो । पहिल्यै हुनु पर्ने भ्रमण कोरोना महामारी कै कारण ढिलो भएको भ्रमण टोलीले जनाएको छ ।




