| मङ्लबार, कार्तिक २४, २०८३

मिटरब्याज पिडितलाई उजुरी गर्न गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मिटरब्याज पिडितलाई उजुरी गर्न आग्रह गरेको छ । गरिव तथा निरक्षर ब्यक्तिहरुले पैसाको गर्जो टार्नका लागि चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्नेको उजुरी गर्न प्रशासनले सुचना जारी गरेको हो ।

प्रचलित दर भन्दा धेरै ब्याज तिर्ने कबोल गरी ऋण लिने गरेको र एउटा कागजमा कानुनी रुपमा स्विकार्य दर राखी ब्यवाहारमा उच्च दरको ब्याज लिने गरेकाहरुको उजुरी गर्न सक्ने प्रशासनले जनाएको छ । कतिपयले पछि अंक थपेको, ऋण लिएको भन्दा कयौँ गुणा बढी रकम दावी गर्ने गरेको, धेरै समय राखेर तमसुक गरी अनाधिकृत ब्याज असुलेको भए उजुरी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

No description available.

दृष्टिबन्धक राख्ने, छिनुवा पास लिने, खाली चेकमा हस्ताक्षर गराएर राख्ने, चेक बाउन्स लगायत मुद्धामा फसाउने, धम्की दिने, साँवा भन्दा धेरै ब्याज लिने, ऋणिको जायजेथा आफ्नो कब्जामा लिने मिटरब्याजीले गरेको अपराधका बारेमा उजुरी गर्न सुचना जारी गरिएको प्रजिअ आचार्यले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन सकिनेछ । प्रशासन कार्यालयले प्रशासकिय अधिकृत चुडानिधि तिवारीलाई र प्रहरी कार्यालयले प्रहरी निरीक्षक सोम ढकाललाई मिटरब्याज पिडितको उजुरी हेर्ने ब्यक्तिको रुपमा तोकेको छ । प्रशासनले छानबिन गरी मिटरब्याजीहरुलाई कारवाही गर्ने भएकाले तत्काल उजुरी गर्न अनुरोध गरेको छ ।

गृहमन्त्रालयले मिटरब्याजीलाई कारवाही गर्न देशब्यापी जिल्ला प्रशासन कार्यालय मार्फत सुचना जारी गर्दै उजुरी लिईरहेको छ । उजुरी उपर छानबिन गरी कारवाही अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएपछि गोरखामा पनि उजुरी लिने क्रम सुरु भएको हो । यस अघि पनि गोरखामा मिटरब्याजीका कारण सर्वसाधारणको सम्पत्ती दृष्टिबन्धक राखेको, धेरै ब्याज लिने गरेको गुनासो आईरहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्