
सडकै नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनेको विषयमा छानबिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले गोरखाको दरौँदी नदीमाथि निर्माण भएको पक्की पुलको विषयमा छानबिन थालेको हो ।
अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा गोरखास्थित पूर्वाधार कार्यालयबाट आयोगले कागजात झिकाइसकेको छ । अनुसन्धानका लागि गतसाता अख्तियारको टोली गोरखा आएको थियो । त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरेर फर्किएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पनि कागजात मागिएको छ । गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ जोड्ने गरी जरेबरमा पूर्वाधार विकास कार्यालयमार्फत पुल निर्माण भएको विषय छानबिनमा परेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो खेत छेउमा सडक नै नभएको ठाउँमा पाँच करोड ३९ लाखमा पुल निर्माण गरेपछि आलोचना भएको थियो ।

अन्यत्र पुल अत्यावश्यक भएको ठाउँ छाडेर मन्त्री भएका बेला सत्ता र शक्तिको दुरुपयोग गरी आफ्नो जग्गाको छेउ घर, खेत नजिक पक्की पुलको योजना हालेको आरोप मन्त्री बस्नेतमाथि छ । उक्त विषय संचार माध्याममा प्रकाशित भएपछि अख्तियारले छानबिन थालेको हो । ‘यो गम्भीर विषय भएकाले आयोगको केन्द्रीय कार्यालयबाट हेरिएको हुनुपर्छ’, अख्तियारका एक अधिकारीले भने ।
छानबिनका क्रममा गोरखा स्थित पूर्वाधार कार्यालय र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीलाई पनि बयानका लागि बोलाइएको छ ।




