| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार एयरपोर्टको काम अलपत्र, सडकका कारण काम प्रभावित

नरहरि सापकोटा

गोरखाको पालुङटार एयरपोर्ट संचालनमा सडक बाधक बनेको छ । एयरपोर्टको जग्गा अतिक्रमण गरेर सडक निर्माण भएपछि एयरपोर्टलाई जग्गा अपुग भएको हो । गत वर्षदेखि संचालन गर्ने गरी एयरपोर्टमा मर्मत, सुधार र आवश्यक पूर्वाधारण बनाउने गरी ठेक्का भएको थियो । समयमै काम पूरा नहुँदा एयरपोर्ट संचालनको मिति धकेलिएको छ ।

२०१८ सालदेखि उडान सुरु भएको पालुङटार एयरपोर्ट लामो समयदेखि बन्द छ । बन्द रहेको एयरपोर्ट पुन संचालन गर्न नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो । २०७७ असार ३१ गते प्राधिकरणले काष्ठमण्डप कन्टूक्सन प्रालीसँग तीन करोड १७ लाख ५० हजारमा एयरपोर्टमा काम सुरु गर्ने गरी ठेक्का सम्झौता ग¥यो ।

‘अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ’, प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र बुलले भने, ‘असारमा म्याद सकिएको थियो अहिले आगामि पुससम्म थप भएको छ ।’ रन वे निर्माण, ग्रेडिङ, तारबार लगायतको काम गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए ।
रनवेमा कालोपत्रे सडक बनेकाले समस्या भएको छ । ‘एयरपोर्टको रनवेभित्र नियमित प्रयोग हुने कालोपत्रे सडकका कारण काम ढिलो भएको हो’, उपप्रबन्धक बुलले भने । एयरपोर्टभित्र सडक कायम गर्दा जग्गा अपुग हुने, सुरक्षा संवेदनशिलता बढी हुने हुँदा सम्भव नरहेको उनले बताए ।

‘वडा र नगरपालिकाले सडक जसरी पनि चाहिन्छ भनेर पत्राचार गर्नुभएको छ’, उपप्रबन्धक बुलले भने ‘नागरिक उड्डयन प्राधिकरणको जग्गा बाटोका लागि उपलब्ध गराउन मन्त्रिपरिषदको निर्णय चाहिने भएकाले पर्यटन मन्त्रालयमा पठाएका छौँ ।’ पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने र निर्णय भएको खण्डमा मात्र एयरपोर्ट भित्रको सडक कायम रहन सक्ने उनले बताए । ‘तर मन्त्रीपरिषदले निर्णय गरे पनि एयरपोर्ट चलाउने हो भने सडक अनिवार्य हटाउनुपर्छ । एकै ठाउँमा एयरपोर्ट पनि सडक पनि संभव छैन’ सुचना अधिकारी समेत रहेका उपप्रबन्धक बुलले भने ।

नागरिक उड्डयन प्राधिकरणले भने अहिले भएको सडक स्थानान्तरण गर्दा सहज हुने बताएको छ । सडकबाहेक पनि प्राधिकरणको नाममा रहेको जग्गा अतिक्रमण भएको छ । लामोसमयदेखि भोगचलन गर्दै आएका भन्दै केही ब्यक्तिले प्राधिकरणको नाममा देखिएको जग्गा छाड्न आलटाल गरेका छन् । ‘सडकको बारेमा निर्णय नहुँदासम्म एयरपोर्टको काम दु्रतगतिमा अघि बढ्न नसक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले टुईनटर बिमान संचालन गर्न मिल्ने गरी एयरपोर्ट संचालनको तयारी गरेको थियो ।

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले जग्गा सम्बन्धीको बिवाद नगरपालिकाले सुल्झाउन सक्ने खालको रहेको बताए । ‘लामो समयदेखि चर्चेको जग्गा एकजनाको प्राधिकरणको पुर्जा भित्र देखाएको छ’, उनले भने, ‘मुआब्जाबाट यो समस्या हल गर्न सकिन्छ ।’ राज्यले लामो समयदेखि निरन्तर बजेट बिनियोजन नगर्दा एयरपोर्ट प्रयोगमा आउन नसकेको बताउँदै उनले भने ‘नियमित प्रयोग भएको भए अतिक्रमण, सडक निर्माण हुने थिएन, बैकल्पिक ब्यवस्था हुन सक्थ्यो ।’

आफ्नो पाँचवर्षे कार्यकालमा एयरपोर्ट संचालनमा ल्याउने गरी पहल गरिरहेको उनले बताए । तर सडकको बिकल्पका बारेमा भने नगरपालिकाले सोचेको छैन । तनहुँहुँदै प्रवेश गर्ने मुख्य सडक भएकाले यथावत राखेर एयरपोर्ट चलाउनुपर्नेमा उनले जोड दिए । ‘प्लेन आएको बेला सडक बन्द गर्ने र अन्य समयमा खोल्ने गरी टूाफिक लाईटको ब्यवस्था गर्न सकिन्छ’ उनले भने ।
पालुङटार एयरपोर्ट संचालनमा आएपछि गोरखा, तनहुँ, लमजुङ, मनाङका स्थानीयलाई सजिलो हुने उनले बताए । ‘पर्यटकका लागि र यस क्षेत्रको सुविधाका लागि एयरपोर्ट आवश्यक छ’, उनले भने ।

एयरपोर्ट सुरक्षाको दृष्टिले नियमित प्रयोग हुने सडक रनवे भित्र हुँदा एयरलाईन्सहरुले सुरक्षित मान्दैनन् । ‘एयरपोर्ट मात्रै बनेर भएन, त्यहाँ सेवा दिनेहरुले सुरक्षित महशुस गर्नुप¥यो’, बुलले भने, ‘सेवा दिनेहरुलाई सेक्यूरिटी थ्रेट महशुस गर्नु भएन ।’
डेढ किलोमिटर लम्बाई र पाँचसय मिटर चौडा रहेको एयरपोर्ट गोरखामा सहज यातायात सुविधा भएसँगै बन्द भएको थियो । पालुङटार एयरपोर्टको तीन सय १० रोपनी तीन आना दुई पैसा एक दाम जग्गा नापी कार्यालय गोरखाको फिल्डबुक अभिलेखमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्