
आजबाट जिल्लाभरीका बालबालिकालाई फाइजर–बायोएनटेक खोप लगाइदै
गोरखाका दश वटा पालिकामा आजबाट गोरखाका बालबालिका लाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो अभियान संचालन हुने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पहिलो चरण अन्तरगत जिल्ला भरिका ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर(बायोएनटेक खोप अभियान संचालन गर्न लागेको कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । ‘यो अभियानमा जिल्लाभरिका २८ सय १८ जना बालबालिकालाई खोप लगाउने उद्देश्य रहेको छ । उनीहरुमध्य २७ सय ६३१ जना विद्यालयम रहेका बालबालिका हुन भने चारसय पाँच जना विद्यालय बाहिरका बालबालिका रहेका छन्’, उनले भने । सबै पालिकामा भदौ पाँच गतेबाट आठगते सम्ममा खोप अभियान सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।
जिल्लाभरि रहेका तीनसय खोप केन्द्रमा सातसय ९४ जना तालिम प्राप्त स्वयं सेवकद्वारा बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए । तर यदि कोभिड(१९ पोजेटिभ देखिएको ३० दिनभित्र र गम्भीर विरामी र उच्च ज्वारो आएको अवस्थामा यो खोप लगाउन नहुने बताइएको छ । त्यस्तै, पाँच वर्षभन्दा मुनि र ११ वर्षभन्दा माथिका बालबालिका र पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको बालबालिकाले पनि यो खोप लगाउन नहुने उनको भनाइ छ । प्रत्येक खोप केन्द्रमा एकजना खोप दिने स्वास्थ्यकर्मी र दुई जना स्वयमसेवक अनिवार्य हुनुपर्ने समेत कार्यालयले जनाएको छ ।
खोप लगाउनुपर्ने बालबालिका कुन पालिकामा कति ?
गोरखाको भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका अन्य सबै पालिका एकै पटक यो अभियान संचालन हुने जनाएको छ । सिरानचोकमा ४० वटा खोप सेवा केन्द्रबाट १८ सय ६ जनालाई, भीमसेनथापामा ३४ वटा खोप सेवा केन्द्रबाट १५ सय ९९ जना, शहिदलखनमा ४९ वटा खोप सेवा केन्द्रबाट २१ सय ६७ जनालाई र गोरखा नगरपालिकामा ८९ वटा खोप सेवा केन्द्रबाट ७६ सय ८० जना बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिए ।
गण्डकीमा ३९ वटा खोप सेवा केन्द्रबाट २३ सय २४ जनालाई, अजिरकोटमा २२ वटा खोप सेवा केन्द्रबाट १३ सय २४ जनालाई, बारपाकसुलिकोटमा २६ वटा खोप सेवा केन्द्रबाट २५ सय २३ जनालाई, धार्चेमा २१ वटा खोपसेवा केन्द्रबाट १९ सय २६ जनालाई र पालुङटार नगरपालिकामा ४५ वटा खोप सेवा केन्द्रबाट ४२ सय ८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनले बताए ।
गोरखा जस्तै हिमाली तथा पहाडी जिल्लामा एकसय २५ वा सो भन्दा धेरै लक्षित संख्या भएको विद्यालय साथै भौगोलिक विकटता र २ घण्टा भन्दा बढी दुरी भएमा थप खोप केन्द्र राख्ने गरिएको कार्यालयले जनाएको छ । यस्तै गण्डकी प्रदेशभरीका दुई लाख ९७ हजार २६१ बालबालिका यो खोप लगाउनपर्ने देखिएको समेत उनले जानकारी दिए ।




