
गोरखामा खर्च विवरण नबुझाउने उम्मेद्वारसँग स्पष्टिकरण माग्ने चेतावनी
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनेको सबैलाई निर्वाचन खर्च बुझाउन निर्वाचन कार्यालय गोरखाले आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानूनले तोकेको समयावधी(३० दिन) भित्र निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुका नाउँमा सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण पेश गर्ने कार्यालयले अनुरोध गरेको हो ।
तोकिएको समय अवधिभित्र खर्च विवरण पेश नगर्ने उमेदवारहरुको नामावली कार्यालयको वेवसाइटमा सार्जनिक गर्ने कार्यालयले चेतावनी दिएको छ ।
कार्यालयले गत बुधबार सूचना जारी गर्दै आठगते भित्रमा उम्मेदवारको खर्च विवरण कार्यलय बुझाउन आग्रह गरेको छ । गोरखामा चौधसय ७८ जना उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन् । ८४० जनाले अहिलेसम्म खर्च विवरण नबुझाएका हुन् भने छसय ३८ जना उम्मेद्वारले मिति गुज्रिसकेपछि खर्च विवरण पेश गरेका हुन् ।
उनीहरु सबैले तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको उल्लेख गरी खर्च विवरण बुझाउन आग्रह गरिएको छ । यदि तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाएको खण्डमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम कारवाही हुने जनाएको छ ।




