| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी, नेकपा एस र नेसपा चुनावपछि एकता हुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसित पार्टी एकता हुने बताएका छन् । नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसित पार्टी एकता गर्ने तयारी भएको बताएका हुन् ।

‘बाबुरामजी र हामी फेरि एकै ठाउँमा उभिने भइयो । यो गोरखाको लागि पनि विशेष महत्वको कुरा हो’, उनले भने, ‘चुनावपछि पार्टी एकता हुनै नै स्थिति छ । नेकपा एससित पार्टी एकता संयोजन समिति बन्छ, किनकि माओवादीले पहिल्यै निर्णय गरेको छ । समाजवादीले पनि अस्ति निर्णय गरेको हुनाले पार्टी एकता हुन्छ । संयोजन समितिचाहिँ चुनाव अघि नै बन्छ ।’
गठबन्धन बच्ने र चुनाव जित्नेलाई मुख्य आधार बनाएर सिट बाँडफाँट हुने भन्दै उनले गठबन्धन बचाउने ढंगले सिटबाडफाँट हुने उनले बताए ।

‘सिट बाँडफाँटको बिषय सहज ढंगले नै गइराखेको छ’, उनले भने, ‘केही दिनभित्र बाँडफाँटको बिषय टुंगिन्छ । हामीले मुख्य आधार गठबन्धनलाई नै बनाउँछौँ । अरुलाई भन्दा विशेष गठबन्धन बचाउने र चुनाव जित्नेलाई मुख्य आधार बनाइन्छ । तर अब हेर्दाखेरि त २०७४ को मत परिणाम र स्थानीय चुनावको मत परिणामलाई पनि हेर्ने कुरा हुन्छ । जे जे भए पनि गठबन्धन बचाउने ढंगले हुन्छ ।
यसअघि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सिट बाँडफाँटका लागि कार्य दलले गरिरहेको काम सकारात्मक दिशातिर रहेको उनको भनाइ छ । ‘हामी गठबन्धन गरेरै जान्छौँ । तपाईहरुलाई थाहा छ, कार्यदल बनाएका छौँ । कार्यदलले लगातार काम गरिरहेको छ । त्यो सकारात्मक दिशातिर छ, मिल्ने दिशातिर नै छ’, उनले भने, ‘सम्भवतः केही दिनभित्र कुन पार्टीले कति सिट प्राप्त गर्न उचित हुन्छ भनेर सिटसंख्या निर्धारण गर्छौँ । त्यसपछि कुन–कुन संघीय निर्वाचन क्षेत्र र प्रादेशिक निर्वाचन क्षेत्र कुन–कुन पार्टीलाई भनेर टुंग्याउँछौँ ।’ स्थानीय चुनावमा जस्तो हतारो र चटारो गरी अन्तिम समयसम्म नटुंगिने र टुंगिएपछि मान्छेलाई सम्झाउन पनि नभ्याइने गरी काम नगर्ने उनले बताए ।

आफू दुई पटकसम्म प्रधानमन्त्री भएको हिसाबले हालै सम्पन्न भएको स्थानीय चुनावमा सबै ठाउँमा आफैले चुनाव जिते जस्तो लागेको उनले बताए । ‘प्रतिगमनको दुर्घटनाबाट देश बचाउनका लागि निर्वाचन सम्पन्न गर्न हामी सफल भयौँ । मैले भनेँ, कुन पार्टीले कति जित्यो भन्ने कुरा, कम्तिमा म माओवादीको अध्यक्ष भएको नाताले, दुई पटकसम्म प्रधानमन्त्री भएको नाताले मैले भनेँ, निर्वाचन सम्पन्न भएपछि सबै ठाउँमा हामीले नै जित्यौँ’, उनले भने, ‘कांग्रेसले जिते पनि त्यो हामीले नै जितेको हो, एमालेले जितेको पनि हामीले नै जितेको हो । किनकि संविधान खतरामा पर्नबाट बच्यो । दुईचार सिट कसैले बढि जित्यो, दुई चार सिट कसैले कम जित्यो त्यो ठूलो कुरा हैन । मुख्य कुरा विधिले जित्यो, पद्धतिले जित्यो । सिस्टमले जित्यो, संघीयताले जित्यो ।’ यसमा सबैभन्दा धेरै आफ्नो पार्टी खुशी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्