| मङ्लबार, कार्तिक २४, २०८३

सुरु भयो गोरखामा ब्लड वैँक, सेतो रगत पनि गोरखामै उत्पादन गरिने

गोरखामा रक्त संचार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालन आरम्भ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पाटेचौरस्थित पुरानो शिक्षा कार्यालय रहेको भवनमा व्लड वैँक स्थापना गरेको हो ।
बुधबार एक औपचारिक समारोहका बीच दुईसय पिण्ट रगत अट्ने क्षमता भएको व्लड वैँकको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाले व्लड वैँक उद्घाटन गरेका हुन् ।

सो ब्लड वैँकमा रगतलाई ३० दिनसम्म सुरक्षितपूर्वक भण्डारण गर्न सकिन्छ । ३० दिनभित्र खपत नभएको रगतलाई ३१ औँ दिनमा चितवन तथा पोखरा पठाउने योजना रहेको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए । साथै रक्तसञ्चार सेवाकेन्द्रमा सेतो रगत उत्पादन पनि गर्ने गरिन्छ । सेतो रगत उत्पादन र ब्लड वैँक सञ्चालनका लागि तालिमप्राप्त ल्याब टेक्निसियन र सहयोगीको व्यवस्था छ ।

ब्लड वैँक उद्घाटन गर्दै उनले आफ्नोतर्फबाट गर्नुपर्ने सकारात्मक सहयोग गर्ने जिसस प्रमुख थापाले प्रतिवद्धता जनाए । सो अवसरमा उनले तत्काल गर्नुपर्ने सहयोगका लागि ग्लोबल फाउण्डेशन इन्स्टिच्यूट नामक गैरसरकारी संस्थामार्फत सहयोग जुटाएको जनाए ।
साथै कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर सपना पुन र सहिद लखन गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीले पनि व्लड वैँक सञ्चालन हुनु गोरखाका लागि अत्यन्त सुखद कार्य भएकाले यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रक्त सञ्चार केन्द गोरखाका लागि अति खाँचो रहेको र त्यसको आरम्भ भएकाले यसलाई दीगो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

No description available.

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी चितवनका रक्त सञ्चार सेवाकेन्द्र प्रमुख रमेशकान्त पौडेलले गोरखाका गम्भीर बिरामी, सुत्केरी तथा घाइतेलाई जिल्लाभित्रै सर्वसुलभ उपचार सेवाका लागि ब्लडबैँक अपरिहार्य भएकाले यसलाई सबैको साथ र सहयोगको खाँचो रहेको बताए । साथै हालै सञ्चालनमा आएको ब्लड वैँकलाई जीवन्तता दिन पालिकाहरुको मुख्य भूमिका रहेको बताए । ‘रगतको अभावका कारण गोरखाका गरीब बिरामी, घाइते तथा सुत्केरीहरु भौँतारिँदै चितवन, पोखरा जानु नपरोस् । यहाँको आवश्यकता यहीँको ब्लड वैँकले पूर्ति गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि यहाँका नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समिति तथा सरकारी, गैरसरकारी संस्था, समाजसेवी सबैको भूमिका अत्यन्त उल्लेखनीय हुन्छ ।’

कार्यक्रममा रेडक्रस शाखा गोरखाका अध्यक्ष यदु विलास भट्टराई, पूर्व अध्यक्ष भगवानबाबु मास्के, वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशी, गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठ, रेडक्रस शाखाका भीमसेनकाजी बानियाँ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

ब्लड वैँक सञ्चालन गरिएको पहिलो दिन छ जनाले रक्तदान गरेका छन् । यसरी नै व्यक्तिगत तथा संस्थागत रुपमा अनुरोध गरी रक्त संकलन गर्ने रेडक्रस गोरखाको योजना छ । उद्घाटनकै अवसरमा एनपिआई गोरखा अस्पतालले एकसय पिण्ट रगत अट्ने क्षमताको रेफ्रिजिरेटर प्रदान गरेको छ ।

ब्लड बैँक संचालनका लागि आवश्यक पर्ने मेसिन तथा विभिन्न सामाग्री सबै उपलब्ध भइसकेको छ । वेल्जियम रेडक्रसको सहयोगमा अस्टे«लियन संस्था ‘ग्याप’ले करिब तीन करोड मूल्य पर्ने उपकरण उपलब्ध गराएको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए ।
ब्लड वैँक संचालनका लागि पाँचजना जनशक्ति चाहिने भएपनि तत्कालका लागि दुईजना मात्र राखेर संचालन गर्ने तयारीमा रहेको उनले बताए ।

दीर्घकालीन रुपमा संचालन गर्नका लागि स्थानीय तहहरुसँग समन्वय गरेर अघि बढ्ने रेडक्रसको योजना छ । हाल गोरखामा दैनिक रुपमा औसतमा दुई पोका रगत खपत हुने गरेको छ ।

गोरखा अस्पताल २०६९ सालमा ५० शैयाको स्वीकृति प्राप्त गरे पनि रगतको अभावमा अप्रेशन लगायतका सेवा सुरु गर्न कठिनाइ भोगिरहेको छ । रगत दिने व्यक्ति तयार गरेर मात्र सुत्केरी तथा बिरामीलाई अप्रेशन गर्न सुरु गर्ने गरिएको गोरखा अस्पतालले जनाएको छ ।
तर नेकपा माओवादीका ध्रुव भट्टले भने शिक्षा कार्यालयको पुरानो भवनमा ब्लड वैँक सञ्चालन गरिएकोमा विरोध गरेका छन् । रेडक्रसको आफ्नै भवन रहेको र गोरखा अस्पतालमा नवनिर्मित भवनमा पर्याप्त ठाउँ हुँदाहुँदै सामाजिक विकास कार्यालयका धेरै कोठाहरु ओगटेर ब्लड वैँक स्थापना गर्नु गलत रहेको उनको टिप्पणी छ । कोठा अभावका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत समस्या खेपिरहनु परेको अबस्थामा सो ठाउँमा ब्लड वैँक सञ्चालन गर्नु उचित नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्