| सोमवार, कार्तिक २३, २०८३

साधना लघुवित्तद्वारा युवा स्वरोजगार सहुलियत कर्जा सुरुवात

गोरखामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जा वितरणको शुभारम्भ गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय पालुङटार गोरखाले युवा स्वरोजगार सहुलियत कर्जा वित्तरण कार्यक्रम शुभारम्भ गरेको हो ।


संस्थाले साउन २९ गते गोरखाको पालुङ्टारमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी वित्तीय संस्थामा आबद्ध उद्यमी सदस्यहरुमध्ये परीक्षणका लागि पहिलो चरणमा २४ जना उद्यमी सदस्यहरुलाई उक्त सहुलियतपूर्ण कर्जा वितरण गरेको जनाएको छ । शाखा कार्यालय पालुङटारका प्रमुख दिनेश देवकोटाको सभापतित्व तथा पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने थिए ।

उक्त वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चिन्तनले सरल र सुलभ दरको कर्जा वितरणले लघुउद्यम व्यवसायको प्रबर्धन गर्न सहज हुने, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने, उत्पादन वृद्धि हुने जसको प्रत्यक्ष प्रभाव सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा देखिने तर्क गरेका थिए ।


बिगतका दिनमा केही गर्छु भन्ने इच्छा भएका युवाहरुले पुँजीको अभावमा आफ्नो ब्यबसाय सञ्चालन गर्न नसकेको अबस्थामा लघुवित्त कार्यक्रमको उपस्थितिले थप आर्थिक क्रियाकलाप गर्न र एक घर एक उद्यमी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


कार्यक्रमका विशिष्ट अतिथि तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सदस्यहरुको दिगो व्यवसाय बिस्तार, प्रवर्धन र सवलीकरण गर्नको लागि साना तथा यूवा स्वरोजगार कोषसंग समन्वय गरी सहुलियत दरको कर्जा वितरण गरेको बताए । साधनाले स्थापनाको छोटो समयमा नै सदस्यमुखी कार्यक्रम सञ्चालन गरेको तथा ग्रामिण दूरदराजका नागरिकहरुलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गर्दे सफल उद्यमी बनाउन यो कर्जा वितरण एउटा प्रयास भएको उनको भनाइ थियो


साधनाले हाल हिमाल, पहाड र तराईका ३१ जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत एकलाख भन्दा बढि सदस्यहरुमा कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्