| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाको साम्दोमा बिओपी राख्न २० रोपनी जग्गा उपलब्ध गराइने

तिब्बती सीमानामा बोर्डर आउटपोस्ट(बिओपी) राख्न चुमनुब्री गाउँपालिका १ साम्दोमा २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले बिओपी स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि साउन १२ गते बसेको चुमनुब्री गाउँ कार्यपालिकाको वैठकले साम्दोमा बिओपी स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । बिओपी स्थापनाका लागि साउन २९ गते पालिकाले जिल्ला प्रशासन कार्यालय गोरखामा पत्रचार गरेको थियो ।

सोहि पत्रका आधारमा सीमा सुरक्षा पोस्ट(बिओपी) स्थापना गर्नका लागि आवश्यक सार्वजनिक प्रकृतिको जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले सम्बन्धित निकायमा सिफारिस लेखी पठाउने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए । ‘सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७७ दफा ६ को सिफारिस समितिले सम्बन्धित निकायमा सिफारिस गर्ने प्रावधान अनुसार हामीले सिफारिस गरेका हौँ’, प्रजिअ आचार्यले भने ।

जिल्ला विपत व्यवस्थापन समितिको वैठकले अहिले कोभिडका विरामीको संख्या बढ्दै गइरहेकाले उनीहरुको उपचारका लागि गोरखा अस्पतालमा १५ बेडको तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाका सबै पालिकाले आ–आफ्नो पालिकाहरुमा रहेका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कोभिडका बिरामी उपचारका लागि आवश्यक वेडको व्यवस्था मिलाउन समेत अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, २०७९ मा मनसुनका कारण आएको बाढी पहिरोका कारण क्षति पुगेका पुल, पुलेसा, खानेपानीका संरचना र सडक लगायतका अन्य भौतिक संरचनाहरुको मर्मत सम्भारको व्यवस्था सम्बन्धित निकायहरुको समन्वयमा विषयत कार्यालयहरुले मिलाउलने वैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्